News

Oct 30, 2009

सरकारले नेकपा माओवादीलाई वार्ताका लागि आवहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीलाई वार्ताका लागि आवहान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एकीकृत नेकपा माओवादीको आन्दोलनका सन्र्दभमा छलफल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न एकीकृत नेकपा माओवादीलाई आवहान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले जानकारी दिनुभयो । बैठकले बेलायत र इजिप्टका लागि राजदूतको नाम पनि सिफारिस गरेको छ । मन्त्री पोखरेलले बेलायतका लागि सुरेशचन्द्र चालिसे र इजिप्टका लागि श्यामलाल तवदारको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । बैठकले विनोदकुमार पाण्डेलाई हङ्गकङ्गका लागि महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा उच्चस्तरीय विकास निर्माण आयोजनाहरुको निरीक्षण र अनुगमन गर्न उहाँलाई प्रतिवेदन दिने हिसावले उच्चस्तरीय अनुगमन तथा निरीक्षण समिति, २०६६ गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले राजनीतिक प्रकृतिका मुद्दाहरुको बारेमा छानविन गरी निरुपण गर्न गृहमन्त्रीको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । यसैगरी प्रधानमन्त्रीको अध्यक्षतामा नौ सदस्यीय जलवायु परिवर्तनसम्बन्धी परिषद् गठन गर्ने निर्णय पनि गरिएको छ । मन्त्री पोखरेलले कुनै एक दिनलाई राष्ट्रिय दिवसको रुपमा तोक्ने भन्ने विषयमा छलफल भएको र त्यसलाई राजनीतिक समितिमा पठाउने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकले दुग्ध विकास संस्थानको अध्यक्षमा झापाका भारतेन्दु मल्लिक, भूमिगत जलविकास समितिको निर्देशकमा प्रमोदराज शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडको प्रवन्धकमा पशुपति गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले राष्टिय प्रसारण नियमावली, २०६६ स्वीकृत गरेको जानकारी दिदै मन्त्री पोखरेलले केही राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिने निर्णय भएको बताउनुभयो । बैठकले ललितपुरको इमाडोलमा मारिएका मृतक प्रदीप खडकालाई सहिदको रुपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।

No comments: