News

Oct 28, 2009

विदेशी ज्वाइँले पनि नेपाली नागरिकता पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अब विदेशी ज्वाइँले पनि नेपाली नागरिकता पाउने भएका छन्। नेपाली केटा वा केटीसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो देशको नागरिकता त्यागेमा नेपालको नागरिकता पाउने भएका छन्। संविधानसभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिअन्तर्गतको उपसमितिले नागरिकतासम्बन्धी व्यवस्थालाई टुंग्याउँदै विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गरी १५ वर्षनेपालमै बसेर आफ्नो देशको नागरिकता त्यागेमा अंगीकृत नागरिकता दिने व्यवस्था नयाँ संविधानमा गर्ने गरी तयार पारिएको प्रतिवेदन समितिलाई बुझाएको छ। उपसमितिले नागरिकतासम्बन्धी सम्पूर्ण अधिकार संघहरूमा नभई केन्द्रमा रहने व्यवस्था प्रस्ताव गरेको छ। उपसमितिको प्रतिवेदनमा नेपालको राष्ट्रप्रमुख तथा उपप्रमुख, संघीय वा राज्यस्तरको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख र संवैधानिक अंग तथा निकाय प्रमुखको पदमा निर्वाचित वा नियुक्त हुन वंशजको आधारमा नागरिकता पाएको नेपाली नागरिक हुनुपर्ने उल्लेख छ। यसै गरी नयाँ संविधानमा आमा र बाबु दुवैको नामबाट नागरिकता वितरण गर्ने व्यवस्था र गैरआवासीय नेपालीलाई नागरिकता नभई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नेपाली परिचयपत्र दिने व्यवस्था गर्न उपसमितिले सुझाव दिएको छ। वितरण भइसकेका नागरिकताको प्रमाणपत्रउपर संघीय सरकारले छानबिन गरी गैरनेपालीले लिएको नागरिकता रद्द गर्न सक्ने व्यवस्था नयाँ संविधानमा गर्न पनि उपसमितिले प्रस्ताव गरेको छ। उपसमितिले तयार गरेको प्रस्तावमाथि समितिमा आज बुधबार छलफल हुने समितिकी सभापति विन्दा पाण्डेले जानकारी दिनुभयो।

No comments: