News

Oct 17, 2009

बेलायत आएका पूर्व गोर्खा सैनिक अलपत्र परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आवासीय भिसा पाएर बेलायत आएका पूर्व गोर्खा सैनिक अलपत्र परेका छन्। गलत परामर्श लिएर बेलायत आएकाले उनीहरू 'ठगिएका' हुन्। पछिल्लो समयमा बेलायत आएका तीन भूपु सैनिक र दुई महिला बस्ने खाने ठेगान नभएपछि रिडिङस्थित एक सामाजिक संस्थाको शरणमा आइपुगेका छन्। उनीहरू ६० देखि ६९ वर्षसम्मका वृद्ध छन्। उनीहरू सबैजना हाल रिडिङको ह्वीटली रोडस्थित एउटा घरमा साँघुरो कोठामा चिन्तित भएर बसिरहेका छन्। नेपालबाट बेलायत आउने प्रक्रियाका लागि उनीहरु हरेकले भूतपूर्व गोर्खा सैनिक संगठन गेसोलाई १ लाख ३० हजार रुपैयाँ भन्दा बढी तिरेको बताए। भिसा आवेदन शुल्क केवल ७६ हजार ५० रुपैंया रहेको छ। 'बेलायत पुग्ने बित्तिकै बस्ने खाने व्यवस्था हुन्छ भनेर गेसोले आश्वासन दिएको थियो,' ६६ वर्षका पहलमान पुनले भने। तर उनी आफ्नी श्रीमती असारीसँग बेलायत ओर्लनेबित्तिकै रनभुल्लमा परे। 'कहाँ जाने, के गर्ने केही थाहा थिएन, एक जना नचिनेको नेपालीले आफ्नो घरमा तीन दिन लगेर राखे। त्यसपछि एक जना लाह्रेको घरमा ४ दिन बस्यौं' पुनले भने। उनी बेलायतमा गेसोको कार्यालय खोज्दै सहयोगको आशामा पुगे। तर त्यहाँ रहेका गेसो पदाधिकारीहरुले बेवास्ता गरेको उनको आरोप छ। 'नेपालबाट आएपछि सुरुमा के के प्रक्रिया गर्नु पर्ने हो त्यसको सूचि मात्र भित्तामा टाँसिदिएको भए हामी आफैं पढ्न सक्थ्यौं नि। तर हामीलाई त प्रमाणित ठेगाना, बैंक खाता नम्बर लिएर होम अफिसबाट फाराम ल्याएर भर्नुस् पो भनियो' पुनले आक्रोश पोखे, 'हामी भर्खर आएको मान्छेलाई त्यो सबै कसरी थाहा हुन्छ?' नेपालमा गेसोलाइ पैसा तिरेको रसिद पनि गेसोले फिर्ता लिएको उनीहरूले बताए। पुन दम्पत्तिसँगै अलपत्र परेका ६९ वर्षीय तमबहादुर पुर्जा र उनकी श्रीमती तथा ६५ वर्षिय उजीर पुन पनि अब के गर्ने भनेर चिन्ताग्रस्त छन्। हाल उनीहरुले एउटा फोहोर घरको साँघुरो कोठामा महिनाको ४२० पाउण्ड तिरिरहेका छन्। उनीहरुका लागि आउने दिन अझै सहज नहुने जानकारहरू बताउँछन्। बेलायत आएका भूतपूर्व गोर्खा सैनिकहरुको लागि काम गरिरहेको यहाँ स्थित गैरसरकारी संस्था द फर्गटन ब्रिटिश गोर्खाका अध्यक्ष पल केड्डी भन्छन्, 'मैले बुझ्न सकेको छैन यी बृद्धहरु के पाइन्छ भनेर बेलायत आइरहेका छन्।' बेलायत गएर कमाइन्छ र सुख पाइन्छ भन्ने हल्ला कायम रहे पनि वास्तविकता उल्टो रहेको उनी बताउँछन्। ...यो टाट पल्टेको देश हो। यहाँ आएर काम पाउँला, कमाउँला भन्ने नसोचे हुन्छ। यो शहरमा मात्र १५ हजार बेरोजगार छन्। ती बुढाबुढीलाई कसले के काम देला र?' ६५ वर्ष भन्दा माथि उमेरकालाई उनी बेलायत नआउन सल्लाह दिन्छन्। 'बुढेसकालमा नेपालमा आराम गरेर बसिरहेकाहरू दुःख पाउन यहाँ किन आएका होलान्। यदि तपाईं बिरामी हुनुहुन्छ भने मात्र उपचारका लागि बेलायत आउनुस् नत्र भने यहाँ नआउनु नै फाइदा छ। यो सन्देश नेपालमा पुर्‍याउनु जरुरी छ,' केड्डी भन्छन्। बेलायतको आवासीय भिसा प्राप्त गरी सँधैको लागि यता आउनेहरुमध्ये ६५ वर्ष भन्दा माथिकालाई सरकारले घर भाडा दिन्छ। तर त्यो रकम अपर्याप्त मात्र होइन, त्यति रकम पाउन पनि महिनौं लामो प्रक्रिया हुन्छ। त्यतिबेलासम्म आफ्नै खर्चमा भूपू गोर्खा सैनिकले गुजारा गर्नु पर्ने बाध्यता छ। काम गर्नेहरुलाई भने सरकारले भत्ता दिँदैन। काम नगर्दा सरकारले दिएको भत्ताले मात्र बाँच्न सकिँदैन। बेलायत आएका पूर्व गोर्खाहरुले उमेरका कारण मात्र नभई भाषाका कारण पनि काम पाउन कठीन रहेको फर्गटन ब्रिटिश गोर्खाका अध्यक्ष केड्डी बताउँछन्। 'उनीहरू बेलायती सेनाबाट अन्य ठाउँमा लडे पनि अधिकांश पहिलो पटक बेलायत आएका छन्। उनीहरुलाई भाषाको समस्या छ। महिलाहरूमा त यो समस्या झन् गम्भीर छ। उनीहरूले काम पाउन ज्यादै मुस्किल छ।' 'बेलायत सरकारले दबाबमा परेर गोर्खाहरुलाई आवासीय अनुमति दिएको हो। तर वास्तवमै यो निर्णयले गोर्खाहरूलाई फाइदा गरेको छैन,' केड्डीको विचार छ। बेलायत आउने उमेर ढल्किसकेका पूर्व गोर्खाले सन्तानलाई नेपालमै छाडेर आएका छन्। १८ वर्ष भन्दा माथिका छोराछोरी ल्याउन पाइँदैन। परिवारबाट एक्लिएर यहाँ आएकाहरुले छोराछोरीलाई ल्याउन पाइने प्रावधान आउँछ कि भन्ने आशा गरे पनि तत्काल त्यस्तो सम्भावना नरहेको केड्डी बताउँछन्। थुप्रै पूर्व गोर्खाहरुले भिसा पाइसके पनि उनीहरू चाड मनाएर मात्र आउने सोचमा रहेकाले तिहारपछि बेलायत भित्रिने गोर्खाहरुको संख्या बढ्ने अनुमान गरिएको छ।

No comments: