News

Oct 19, 2009

इरानमा आत्मघाती आक्रमणमा परी २९ जना मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इरानको दक्षिणपूर्वी क्षेत्रमा गरिएको एउटा आत्मघाती आक्रमणमा परी सरकारी सेना रिभोलुसनरी गार्डका दुई वरिष्ठ कमाण्डरहरु सहित कम्तीमा २९ जना मारिएको इरानले जनाएको छ। पाकिस्तानसंगको सीमा नजिकै भएको उक्त आक्रमणको पछाडी संयुक्त राज्य अमेरिकासंग जोडिएका विदेशी तत्वहरु रहेको उसले आरोप लगाएको छ। इरानका सरकारी सञ्चार माध्यमहरुका अनुसार उक्त हमला इरान र पाकिस्तानको सीमा नजिकैको सीस्तान-बालुचिस्तान क्षेत्रको पीशीन इलाकामा भएको थियो। लागूपदार्थको व्यापारले फैलाएको हिंसाको चपेटामा लामो समयदेखि परेको उक्त क्षेत्र सो व्यापारको लागि अफगानिस्तान र युरोपबीचको प्रमुख मार्ग समेत रहेको छ। सरकारी टेलिभिजन च्यानलले जनाए अनुसार आक्रमणकारीहरुले स्थानीय जनजाति नेताहरुसंग बैठकमा व्यस्त इरानी सैनिकहरुलाई निशाना बनाएका थिए। एउटा रिपोर्टमा जनाइए अनुसार त्यहाँ दुईवटा बम पड्किएका थिए। एउटा बैठकस्थलमा र अर्को त्यहाँ आउँदै गरेको सैनिक टुकडीलाई लक्षित गर्दै। मारिएकाहरुमध्ये केही वरिष्ठ सैनिक अधिकृतहरुका साथै जनजाति नेताहरु रहेका छन्। जसमध्ये इरानी स्थल सेनाका डेपुटी कमाण्डर जनरल नुर अलि शुस्तारी र मुख्य प्रान्तीय कमाण्डर राजव अलि मोहम्मादजादे पनि छन्। इरानी अधिकारीहरुले हमलाको दोष अमेरिकालाई लगाउन ढिलाइ गरेनन्। संसदका सभामुख अली लारीजानीले अमेरिकी गतिविधिका कारण उक्त घटना भएको आरोप लगाए। यसअघि इरानी टेलिभिजन च्यानलहरुमा दिइएका केही रिपोर्टहरुमा जानकार सूत्रहरुको हवाला दिंदै उक्त हमलामा ब्रिटेन प्रत्यक्ष संलग्न रहेको दावी गरिएको थियो। हमलाको जिम्मा जुन्दुल्लाह अर्थात भगवानका सेना नामक एक समूहले लिएको बताइएको छ।
सुन्नी मुसलमानहरु सम्मिलित उक्त समूहले शिया मुसलमानहरुले नेतृत्व गरेको केन्द्रिय सरकारविरुद्ध विद्रोह गरिरहेको छ। मे महिनामा भएको पछिल्लो ठूलो हमलामा विद्रोहीहरुले प्रान्तीय राजधानीको एउटा मस्जिदमा विष्फोट गराएका थिए। त्यसमा परी कम्तीमा १९ जना मारिएका थिए। त्यसबेला इरान सरकारले घटना भएको केही दिनभित्रै केही अभियुक्तहरुलाई समातेको थियो। लगत्तै उनीहरुमाथि मुद्दा चलाइयो र तीनजनालाई फाँसी दिइयो। सन २००७ मा भएको अर्को आक्रमणमा इरानी सेनाका ११ जनाको ज्यान गएको थियो।

No comments: