News

Oct 17, 2009

ठमेलमा यौनअखडा हटाउन विशेष अभियान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वेश्यावृत्ति, गुन्डागर्दी र पैसा-असुलीका घटनामा वृद्धि भएपछि प्रहरीले ठमेलकेन्दि्रत 'ठमेल अपराध सफाइ अभियान' सुरु गरेको छ । अभियानमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं र लैनचौर प्रभाग संलग्न छन् । मंगलबारबाट सुरु भएको ठमेलकेन्दि्रत विशेष अभियानअन्तर्गत पहिलो टार्गेट होटल, लज तथा मसाज केन्द्र बनाइएको छ भने दोस्रो टार्गेटमा डान्स रेस्टुरेन्ट, गुन्डागर्दी र रकम-असुलीलाई बनाइएको छ । प्रहरीले बिहान, मध्याह्न र बेलुका हुनसक्ने आपराधिक घटनाको आधारमा ठमेल क्षेत्रमा टार्गेट बनाएर विशेष अप्रेसन चलाइरहेको छ । यसबीचमा प्रहरीले होटलको आवरणमा यौनधन्दा चलाइरहेका पाँचवटा गेस्टहाउसमा छापा मारी ४० जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले ठमेल क्षेत्रकेन्दि्रत गरेर सादा पोसाकका प्रहरीहरूको संख्या बढाएको छ भने स्थानीय प्रहरी इकाइलाई समेत ठमेलकेन्दि्रत गराएको छ । अभियानअन्तर्गतको टोलीले बुधबार र बिहीबार ठमेलमा रहेका विभिन्न गेस्टहाउसमा छापा मारेको थियो । छापा मार्नेक्रममा सिल्करोड गेस्टहाउस, पिस फेवा गेस्टहाउस, श्रीगणेश गेस्टहाउस र सन्ध्या होटल तथा गेस्टहाउसमा यौनजन्य क्रियाकलाप भइरहेको फेला परेपछि प्रहरीले १५ जनालाई पक्राउ गरेको थियो ।परिसरका प्रमुख नवराज सिलवालका अनुसार पर्यटकीय क्षेत्रका रूपमा परिचित भए पनि वेश्वावृत्ति, गुन्डागर्दी र रकम-असुलीका घटनामा वृद्धि भएको जनगुनासोसमेत बढेपछि ठमेलकेन्दि्रत गरेर सफाइ अभियान सुरु गरेको बताए । उनले अभियानको उद्देश्य अपराध नियन्त्रण रहेको उल्लेख गर्दै भने, 'मंगलबारबाट अभियान सुरु गरेका छौँ, प्रारम्भ सकारात्मक छ ।' लैनचौर प्रभागका प्रमुख रुगमबहादुर कुँवरका अनुसार ठमेल क्षेत्रमा करिब दुई सय ५० होटल तथा गेस्टहाउस तथा दुई सय २० वटा रेस्टुरेन्ट रहेका छन् । उनले भने, 'यीमध्ये २० वटा गेस्टहाउस र २५ वटा रेस्टुरेन्टमा गैरकानुनी काम हुने गरेको हाम्रो रेकर्डमा देखिन आएको छ । त्यहीअनुसार अप्रेसन पनि अघि बढेको छ ।' कुँवरका अनुसार समय हेरेर प्रधान कार्यालय, आयुक्तको कार्यालय र काठमाडौं परिसरबाट विशेष टोली आएर शंकास्पद स्थानमा छापा मार्ने गरेको छ । टोलीलाई संयोजन गर्ने काम प्रभागले गर्दै आएको छ । उनले भने, 'माथिबाट टोली आउने जानकारी आएपछि त्यहीअनुसारको तयारी गछौँ ।' काठमाडौं परिसरले ठमेलका साथै काठमाडौंका अन्य होटल तथा लजलाई समेत अहिले वाच लिस्टमा राखेको छ । स्थानीयवासीबाट आएको गुनासोका आधारमा परिसरको विशेष टोलीले बुधबार बागबजारको सप्तमार्गमा रहेको सिराहा-लाहान गेस्टहाउसमा छापा मार्दा गेस्टहाउसको आवरणमा यौनकोठी सञ्चालनमा रहेको फेला पारेको थियो । प्रहरीले गेस्टहाउसभित्र ग्राहकका लागि कोठीको शैलीमा कोठाहरू विभाजन गरेको फेला पारेपछि यौनधन्दामा संलग्न र उसका ग्राहक गरी ३० जनालाई पक्राउ गरेको थियो । पक्राउ सबैलाई काठमाडौं परिसरले हिरासतमा राखेर सार्वजनिक अपराधमा कारबाही अघि बढाएको छ ।

No comments: