News

Oct 25, 2009

१२ मन्त्रीले फर्जी बिलको भुक्तानी नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रीहरूले दसैँबिदाको अनुगमनभत्ता नपाउने भएका छन् । दसैँ मनाउन घर जाँदा सरकारी कार्यालय अनुगमन गरेको भन्दै सरकारका १२ मन्त्रीले भत्ता र अन्य सुविधा माग गरेका थिए ।सबै सरकारी कार्यालय बन्द रहने दसैँबिदाको समयमा कार्यालय अनुगमन गरेको भन्दै मन्त्रीहरूले दैनिक भ्रमणभत्ता, यातायात तथा होटलखर्चबापतको रकम माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्जी बिल पेस गरेका थिए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिदा अवधिमा मन्त्रीहरूले गरेको खर्चको बिल र भत्तारकम नदिने निर्णय गरेको हो । 'बिदा अवधि कटाएर मन्त्रीहरूलाई भत्ता र सुविधाबापतको रकम दिने निर्णय भएको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्रोतले भन्यो । स्रोतका अनुसार उनीहरूले पेस गरेको बिलको रकमभन्दा कमै मात्र रकम भुक्तानी पाउनेछन् । मन्त्रीहरूलाई दसैँमा घर जाँदा-आउँदाको हवाइटिकट भने उपलब्ध गराइने निर्णय भएको छ ।मन्त्रीहरू बालकृष्ण खाँण, डम्बरकुमार श्रेष्ठ, सर्वदेव ओझा, मोहम्मद अफ्ताव आलम, गणेश तिवारी तथा राज्यमन्त्रीहरू चन्द्रसिंह भट्टराई, गोविन्द चौधरी, मानबहादुर शाही, खड्गबहादुर बस्याल, डिल्ली महत, रिजवान अन्सारी र सहायकमन्त्री चन्दा कलवारले दसैँ अवधिको बिदाको समयमा पनि सरकारी कार्यालय अनुगमन गरेको भन्दै फर्जी बिल पेस गरेको नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।समाचार प्रकाशित भएपछि फर्जी बिल पेस गर्ने तयारी गरेका अन्य मन्त्रीले बिल नबुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकटस्रोतले जनाएको छ । 'समाचार छापिनुअघिसम्म त्यस्ता बिल आउने क्रम जारी थियो, त्यसपछि रोकियो,' कार्यालयस्रोतले भन्यो ।स्रोतका अनुसार नक्कली बिल पेस गरेका मन्त्रीहरूले प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले गोप्य रूपमा बिल पेस गरेको कसरी सार्वजनिक भयो भन्दै गुनासो गरेका थिए ।

No comments: