News

Oct 15, 2009

नयाँ राष्ट्रिय गानकै विषयमा समेत विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २८ गते । संविधानसभाको संवैधानिक समितिमा राष्ट्रिय झण्डा र प्रतिक चिहृनहरू मात्रै होइन, परिवर्तनपश्चात् स्थापित राष्ट्रिय गानकै विषयमा समेत विवाद चलेको छ । समितिमा राष्ट्रिय झण्डा विश्वमा स्थापित भइसकेको र यो अनुपम रहेकाले परिवर्तन आवश्यक छैन भन्ने मत धेरै र बलियो रहे पनि कतिपय दलहरूकै सदस्यबाट भिन्नभिन्न मत देखिएका छन् । प्रमुख दलहरूध्ये नेकपा एमाले र नेपाली काग्रेसका सदस्यबाट राष्ट्रिय झण्डा परिवर्तन नगरी 'चन्द्र-सूर्य' सम्बन्धी नयाँ परिभाषासहित अगाडि बढ्न सकिने विचार व्यक्त भएको छ भने एनेकपा माओवादी र केही साना दलबाट परिवर्तन र सङ्घीय संरचनालाई सम्बोधन गर्ने राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने तर्क प्रस्तुत गरिएको छ । एनेकपा माओवादी राष्ट्रिय जनावर गाईलाई राख्नै नहुने पक्षमा देखिएको छ । बुधबार बसेको संवैधानिक समितिको बैठकमा एनेकपा माओवादीका जयपुरी घर्तीले राष्ट्रिय झण्डा सङ्घीय संरचनाको प्रतिनिधित्व हुनसक्ने बनाउनुपर्ने विचार व्यक्त गर्दै चन्द्र-सूर्यसम्बन्धी नयाँ परिभाषा गरेर पनि अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले राष्ट्रिय गान ठीक भए पनि छलफल गर्न सकिने विचारसहित राष्ट्रिय जनावरमा गाईलाई राख्नै हुँदैन भन्नुभयो । एमाओवादीकै देवप्रसाद गुरुङले नेपाल बहुजातीय, बहुसांस्कृतिक हो भन्ने स्वीकार गर्ने हो भने राष्ट्रिय झण्डा पनि त्यही अनुरूपको हुनुपर्ने बताउनुभयो । अहिले राष्ट्रिय झण्डा विगतको एकजातीय एक सांस्कृतिक भावनाले तय गरिएको तर्कसहित उहाँले सङ्घीय इकाइ बराबरका चिहृन राखेर पनि नयाँ झण्डा बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रिय गान सरकारले परिवर्तन गर्नसक्ने खुला व्यवस्था गर्नुपर्ने विचारसहित उहाँले राष्ट्रिय प्रतिक चिहृनहरू र राष्ट्रिय जनावर गाई राख्न जरुरी नरहेको पनि बताउनुभयो । नेकपा एमालेका अग्नि खरेलले राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्यलाई चन्द्र र सूर्यवंशी राजासँग जोडेर हेर्नु गलत हुन्छ भन्दै चन्द्र-सूर्यको व्यवस्थालाई नयाँ परिभाषा दिएर यही झण्डा कायम राख्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । हरेक कुराको प्रयोगशाला नबनाउँ, उहाँले थप्नुभयो- गाईलगायतका विषय जनताको मनोभावनासँग जोडिएका छन्, जनताको भावना ख्याल गर्नुपर्छ, प्रतीक चिहृन नभई नहुने विषय पनि होइनन् । एमालेकै छविलाल विकले नेपालको राष्ट्रिय झण्डा राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको र यसलाई परिवर्तन गर्नु जरुरी नरहेको विचार व्यक्त गर्दै निशाना छाप र राष्ट्रिय गान जनआन्दोलनपश्चात् निश्चित प्रक्रियाका आधारमा स्थापित गरिएकोले पुनः परिवर्तन गर्नुनपर्ने बताउनुभयो । हाम्रो राष्ट्रिय झण्डा विश्वमै अनुपम छ, चन्द्र र सूर्यलाई विश्वका सबै धर्मले मान्छन्, यो हिन्दूधर्म मान्नेहरूको मात्र होइन, नेपाली काङ्ग्रेसका विमलेन्द्र निधिले भन्नुभयो- यो चन्द्रवंशी र सूर्यवंशी राजाको झण्डा पनि होइन । राजाको त आफ्नै झण्डा, निशान छाप र मुकुट थियो, ती हटाइसकियो । राष्ट्रिय झण्डाले राजतन्त्रको प्रतिनिधित्व गर्दैन भन्ने मतसहित सीपी मैनाली, केशव मैनाली, शारदा झा, बुद्धरत्न मानन्धर, सपना प्रधान, कल्पना राणा, कुलबहादुर गुरुङलगायतले झण्डा फेर्न नहुने बरु प्रतीक चिन्हहरू नराख्न पनि सकिने विचार व्यक्त गर्नुभयो । सरिता गिरीले पहिला राष्ट्रकै परिभाषा तय गरेर त्यही आधारमा झण्डा बनाउन सकिने विचार व्यक्त गर्नुभयो भने विश्वेन्द्र पासवानले राष्ट्रिय झण्डाले पुरानै र एकात्मक मानसिकता प्रतिविम्बित गर्ने हुँदा यसलाई परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । केही सदस्यले कतिपय नेपाली जनताले गाईको मासु खाने हुँदा राष्ट्रिय जनावरमा गाई होइन, गैँडा राख्नुपर्ने तर्क दिनुभयो भने कतिपयले फर्सी, सिस्नु पनि कतिपयले खाने कतिपयले नखाने तर्क दिँदै त्यस आधारमा गाईप्रतिको अवधारणा उचित हुँदैन, त्यसको दूध, सद्गुण र कृषिसँग जोडेर दृष्टिकोण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । समितिमा यी विषयमा छलफल जारी छ ।

No comments: