News

Oct 29, 2009

नेपाल प्रज्ञाप्रतिष्ठानले बेकाममा १२ करोड स्वाहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी ढुकुटीको झन्डै १२ करोड रुपियाँ हाजिर गरी चिया खाएर दिन काट्ने कर्मचारीको तलबका लागि खर्च गरिएको छ। लोकतन्त्र स्थापनापछि नेपाल प्रज्ञाप्रतिष्ठान नामकरण गरिएको तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका १ सय ३६ जना कलाकार र कर्मचारीहरूले बिनाकाम झन्डै ४ वर्षेखि तलब खाइरहेका छन्।देशको भाषासाहित्य र कलासंस्कृतिबारे अध्ययन-अनुसन्धान गर्ने, पुस्तक प्रकाशन गर्ने, राष्ट्रिय रूपमा कविता र नाटय महोत्सवको आयोजना गर्ने तथा साहित्यकार, कलाकार र साहित्यिक पत्रकारका लागि औषधोपचार खर्च वितरण गर्नेजस्ता काम गर्दै आएको प्रतिष्ठानमा दोस्रो जनआन्दोलनपछि रिक्त भएको प्रज्ञापरिषद्मा पदपूर्ति हुन नसकेपछि यस्तो स्थिति आएको हो। प्रज्ञाप्रतिष्ठानको वाषिर्क बजेट झन्डै ४ करोड हुने र त्यसमध्ये ३ करोडजति प्रशासनिक र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ। यस हिसाबले ४ वर्षमा झन्डै १२ करोड रुपियाँ सरकारी कोषबाट कामविहीन कर्मचारीको तलबका लागि खर्च भएको छ।नेपाल प्रज्ञाप्रतिष्ठानको लोकतान्त्रिक कलाकार कर्मचारी संघका अध्यक्ष शैलेन्द्र सिम्खडा लोकतन्त्र स्थापनापछि प्रज्ञापरिषद्मा पदपूर्ति हुन नसकेकाले कर्मचारीले काम गर्न नपाएको र वृत्तिविकास हुन नसकेको बताउँछन्। ’कर्मचारीले हाजिर गरेर चिया खानेबाहेक अरू काम पाएका छैनन्। उनीहरूलाई काम लगाउन प्राज्ञपरिषद् छिटो गठन गरी योजनाहरू बनाएर कार्यान्वयन गर्नुपर्यो’ -उनको माग छ।एनेकपा माओवादीनिकटको राष्ट्रिय कर्मचारी संगठन प्रतिष्ठान एकाइका अध्यक्ष भीम सापकोटा पनि कर्मचारीको हाजिर गरेर तलब खानेभन्दा अरू काम नभएको स्वीकार गर्छन्। ‘कामै दिइएको छैन के काम गर्ने ? यो त सरकारले सोच्नुपर्ने कुरा हो’, उनी भन्छन्।हरेक वर्षराष्ट्रिय कविता महोत्सव र राष्ट्रिय नाटक महोत्सव गर्ने प्रतिष्ठानले २०६१ सालदेखि यसको आयोजना गर्न सकेको छैन। यसै गरी यसले प्रदान गर्दै आएका विभिन्न पुरस्कार पनि लामो समयदेखि रोकिएको छ।वर्तमान सरकारले नेपाल प्रज्ञाप्रतिष्ठान र यसै पालिदेखि बनाइएका नाटय संगीत र ललितकला प्रतिष्ठानमा पदपूर्तिका लागि असारको अन्तिममा गठन गरेको सिफारिस समितिले साउनको दोस्रो हप्तामै सरकारलाई सिफारिस बुझाइसकेको छ। संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालको नेतृत्वमा गठन भएको नेपाल प्रज्ञाप्रतिष्ठानको सिफारिस समितिमा डा. तुलसी भट्टराई र तोया गुरुङ सदस्य थिए। संगीत नाटय प्रतिष्ठानमा विमल कोइराला र शान्ति मास्के तथा ललितकला प्रतिष्ठानमा उत्तम नेपाली र शशिकला तिवारी सिफारिस समितिमा भए पनि उत्तम नेपाली र शशिकलाले भने राजीनामा दिएका थिए। साउनको दोस्रो साता संस्कृतिमन्त्रीलाई सिफारिस बुझाउँदा छिट्टै प्राज्ञपरिषद् गठन गर्ने आश्वासन पाएको सिफारिस समितिकी तोया गुरुङले बताइन्। ‘हामीले झन्डै तीन महिना पहिले सिफारिस बुझाइसकेका हौं, किन अहिलेसम्म गठन भएन केही बुझिएको छैन’ -उनले भनिन्। माओवादी सरकारका पालामा तीनवटै प्रज्ञाप्रतिष्ठानमा पदाधिकारी नियुक्तिको शुरुआत गरिए पनि चर्को विरोध र अदालतको आदेशका कारण सो निर्णयफिर्ता लिन सरकार बाध्य भएको थियो।

No comments: