News

Oct 28, 2009

तनाव बढेपछि भोजपुरमा निषेधाज्ञा जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८अक्टोबर,२००९, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईमाथि माओवादी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले निर्घात आक्रमण गरि सख्त घाइते बनाएपछि उत्पन्न तनाव मत्थर पार्नको लागि स्थानीय प्रशासनले आज बुधबार बिहानदेखि भोजपुर बजारमा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भोजपुर बजार लगायत आसपासका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको हो । भोजपुर सदरमुकामस्थित मुख्यबजार, रिङरोडभित्र र बाहिर ५ किलोमिटरको दुरीमा कर्फ्यु लगाइएको हो । भोजपुर बजारभित्र ५ जनाभन्दा बढीको समुहमा हिंडडुल नगर्न, लाठी, मुङ्ग्री, भाला, खुकुरी लगायत हातहतियार नबोक्न र सार्वजानिक वातावरणमा खलल पार्ने क्रियाकलाप नगर्न नगराउन आदेश गरिएको छ । क्रान्तिकारीका कार्यकर्ताहरुले गत आइतबार भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईलाई छापामार शैलीमा निर्घात कुटपिट गरी सख्त घाइते बनाएपछि भोजपुर बजार असामान्य बन्न पुगेको छ । बिद्यार्थी संगठन र राजनीतिक दलहरुबीच उत्पन्न तनावले कुनै पनि बेला उग्ररुप लिनसक्ने आशंकामा जनजीवन आतंकित बन्न पुगेको छ ।अखिल क्रान्तिकारीको सांघातिक आक्रमणबाट सख्त घाइते भएका क्याम्पस प्रमुख र्राईलाई सोमबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार बिद्यार्थीहरुले भोजपुर बजारमा माओवादी ज्यादतीविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जुलुस समेत निकालेका थिए । क्याम्पस प्रमुखमाथि सांघातिक आक्रमण भएपछि उक्त क्याम्पसमा बुधबारदेखि हुने परीक्षाका सबै कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । क्याम्पस प्रमुखमाथि भएको आक्रमणको विरोधमा प्राध्यापक तथा कर्मचारीहरुले पठनपाठन र प्रशासनिक काम ठप्प पारेका छन् ।

No comments: