News

Oct 24, 2009

नेपालले एएफसी यु१९ मा आज यमनविरुद्ध उत्रने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८ आइतबार यमनविरुद्ध खेल्दै नेपालले एएफसी यु-१९ च्याम्पियनसिप छनोटको सुरुवात गर्दैछ। नेपाली टोलीको सुरुवाती ११ टुंगो अघिल्लो दिनसम्म लागेको छैन। कारण कप्तान नीराजन मल्ल हुन्। दस दिनअघि दाहिने खुट्टाको गोलीगाँठामा चोट बोकेपछि नीराजनको सहभागिता अनिश्चित बनेको हो। यद्यपि चार दिनअघि खुट्टाको प्लास्टर काटेपछि उनी यमनविरुद्ध उत्रने सम्भावना छ। तर प्लास्टर काटेयता नीराजनले अभ्यास गरेका छैनन्, त्यसैले उनी नखेल्ने सम्भावना पनि त्यतिकै छ। प्रमुख प्रशिक्षक राजु शाक्य आइतबार बिहान मात्र प्लेइङ ११ को टुंगो गर्ने सोचाइमा छन्। 'अझै प्लेइङ ११ टुंगो लागेको छैन,' उनले भने, 'नीराजनको अवस्था हेरौं, अनि टोलीको टुंगो लगाउँला।' अघिल्लो महिना यु-१६ को खराब प्रदर्शनले गर्दा यस टोलीमाथि राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको शाक्य बताउँछन्। 'यु-१६ को प्रदर्शनले हाम्रो टोलीमाथि दबाब छ,' शाक्यले भने, 'त्यो खराब प्रदर्शनलाई समेत मेटाउने गरी हामीले प्रदर्शन गर्नुछ, खेलाडीहरू त्यसमा दृढ छन्।'अन्य टोलीको जस्तै नेपालको पनि अघिल्लो चरण छनोट नै मुख्य लक्ष्य रहेको छ। 'अरु जस्तै अघिल्लो चरण पुग्ने हाम्रो लक्ष्य हो,' प्रशिक्षक शाक्यले थपे, 'हाम्रो टोलीमा त्यो क्षमता छ।'हारजित जे भए पनि टोलीले खेलबाट भने दर्शकलाई निराश नपार्ने दाबी शाक्य गर्छन्। 'टेक्निकली हामी पनि अरुभन्दा कमजोर छैनौं,'ं उनले भने, 'तर खेल जित्न गोल गर्नैपर्छ।' यही टोलीले दुई वर्षअघि इरानमा यु-१६ मा राम्रो प्रदर्शन गरेकाले पनि टोली गोल गर्न सक्षम रहेको शाक्यले बताए। 'हामीले इरानमा खेल नजितेपछि राम्रो टक्कर दिएका थियौं,' उनले थपे, 'मलाई विश्वास छ टोलीले सजिलै हार स्वीकार्ने छैन।'उनले टोलीको सबै पक्षलाई समानरूपमा हरेका छन्। 'कुनै एउटा पक्ष मात्र राम्रोभन्दा पनि टिमवर्क नै हाम्रो बलियो पक्ष हो,' उनले भने, 'पछिल्लो पाँच वर्षदेखि खेलाडीसँगै अभ्यास गर्दै आएकाले पनि टिम सेट छ।' घरेलु फुटबल भने यु-१९ ले आफ्नो क्षमता प्रदर्शन गरिसकेको प्रशिक्षक शाक्यले जनाए। गएको महिना यु-१९ आँबुखैरेनीमा सशस्त्र प्रहरीको एपिएफलाई हराएको यु-१९ ले आर्मीलाई कडा टक्कर दिएको थियो। फाइनलमा आर्मीसँग यु-१९ टाइब्रेकरमा पराजित भएको थियो। यु-१९ अनुभवी डिफेन्डर दीपक भुसाल पनि प्रशिक्षक शाक्यको भनाइमा सहमत हुँदै राम्रो नजिता दिनुपर्नेमा दृढ छन्। उनले भने, 'हामीले यु-१६ को खराब प्रदर्शनलाई बिर्साउने गरी राम्रो नतिजा दिनुछ।' दीपकसँगै अर्का डिफेन्डर रोहित चन्द टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। यी दुवैले राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्। उमेर समूहमा नीराजन, गणेश खड्का, शिव श्रेष्ठलगायतले राम्रै चर्चा कमाएका छन्। दुई वर्षअघि नीराजले यमन र जोर्डन दुवैविरुद्ध गोल गरेका थिए। यद्यपि ती खेलमा नेपाल पराजित भएको थियो। शाक्यका अनुसार नीराजन ९० प्रतिशत फिट छन्। 'आइतबार मात्र नीराजन खेल्ने नखेल्ने निर्णय हुन्छ,' उनले प्रस्ट पारे, 'म एउटा खेलका लागि धेरै जोखिम उठाउन चाहन्न। उसले लामो समय देशको सेवा गर्नुछ। पूर्ण फिट भएमात्र खेलाउने हो।'यमनका प्रशिक्षक सामी नासा टोलीको तयारीबाट सन्तुष्ट छन्। उनले नेपाललाई हल्का ढंगले लिए। 'हामी नेपालविरुद्ध खेल्न तयार छौं,' उनले भने, 'हामीलाई यहाँ समस्या भनेको मैदान मात्र हो, त्यसले हामीलाई केही फरक पार्न सक्छ। हामीले धैरै स्तरीय मैदानमा अभ्यास गर्दै आएका छौं ।' विगतको प्रदर्शनका कारण पनि उनले नेपाललाई घरेलु टोलीलाई कम आँकेका हुन सक्छन्। दुई वर्षअघि यु-१९ को एकै समूहमा पर्दा यमनले नेपाललाई ३-० ले हराएको थियो।

No comments: