News

Oct 19, 2009

चिनियाँ राष्ट्रपति हु जिन्ताओले तिब्बत सुरक्षाको सवाल उठाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीन - पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग चीनको जिनान शहरमा शुक्रबार भएको भेटमा चिनियाँ राष्ट्रपति हु जिन्ताओले तिब्बत सुरक्षाको सवाल उठाएको भ्रमण टोलीमा रहेका माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले बताएका छन्।यसअघि शनिबार राती बीबीसी नेपाली सेवासँग महराले तिब्बत सुरक्षा मामलामा चिनियाँ पक्षले कुरा नउठाएको बताएका थिए। "पहिला जस्तै यसपटक पनि चिनियाँ राष्ट्रपतिले हाम्रो टोलीसँग तिब्बतको सुरक्षाको कुरा उठाए", चीनको साताव्यापी भ्रमण टुङ्ग्याउने तरखरमा रहेका महराले नागरिकसँग भने, "हामीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र तिब्बतको सुरक्षामा सचेत रहेको बतायौँ।" माओवादी अध्यक्ष दाहालसहितको टोलीसँग राष्ट्रपति जिन्ताओले सामूहिक भेटेका थिए। दाहालले नेपालको पछिल्लो राजनीतिक अवस्था बारे ब्रिफिङ गरेपछि जिन्ताओले शान्ति र संविधान निर्माण प्रक्रिया चाँडो टुंगियोस् भन्ने सुभेच्छा प्रकट गरेको महराले बताए। उनले भने, "चिनियाँ राष्ट्रपतिले शान्ति, स्थिरता र विकासका लागि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्।"नेपाल र दक्षिण एसियाकै समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भए तापनि यो भ्रमणको मुख्य उद्देश्य काठमाडौँको राजनीतिक गतिरोध फुकाउने नरहेको महराले बताए। "भ्रमण अहिलेको राजनीतिक घटनाक्रमसँग मात्र सम्बन्धित छैन", उनले भने, "हाम्रो राजनीतिक गतिरोध कसरी फुकाउने भन्ने कुरा काठमाडौँ गएपछि हुन्छ।"साताव्यापी चीन भ्रमणबाट फर्के लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमण गर्न सक्ने महराले बताए। "भारत भ्रमणको टुङ्गो लागिसकेको छैन, हुन पनि सक्छ", उनले भने।बेइजिङस्थित नेपाली दुतावास स्रोतका अनुसार प्रधानमन्त्री भए लगत्तै दाहालले ओलम्पिक समापनको सन्दर्भ पारेर करिब एक वर्ष पहिले चीन भ्रमण गर्दा राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव जिन्ताओले दुई पार्टीबीच औपचारिक सम्बन्ध विकासको प्रस्ताव राखेका थिए। महराका अनुसार यो भ्रमणको मुख्य उद्देश्य दुई पार्टीबीचको सम्बन्धलाई मूर्त रुप दिनु थियो। उनले भने, "महासचिव तथा राष्ट्रपति, एक जना स्थाई समिति सदस्य, दुई जना पोलिटब्यूरो सदस्य लगायत केन्द्रिय समितिका सदस्यहरूसँग भएका सात-आठ वटा बैठक दुई पार्टीबीच दीर्घकालीन सम्बन्ध विकासमा केन्द्रित भयो।"६० वर्षदेखि चीनमा एकछत्र कम्युनिष्ट शासन चलाइरहेको चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपा एमाले र नेपाली कांग्रेसको पहिलेदेखि नै सम्बन्ध रहेको छ। माओवादीसँग चाहिँ छापामार युद्ध छोडेर शान्ति प्रक्रियामा आएपछि मात्रै चीनले सम्बन्धको हात बढाएको हो। वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र विदेश विभाग प्रमुख महरा सहित दाहालको यो भ्रमणले दुई कम्युनिष्ट पार्टीबीच औपचारिक सम्बन्धको शुरुवात मानिएको छ।

No comments: