News

Oct 28, 2009

इटहरीमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा ७-८ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी कात्तिक ११- पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला इटहरिमै बन्नुपर्ने माग राखेर बुधबारदेखि अनिश्चितकालीन आमहड्तालमा उत्रेका स्थानीयले दुई दर्जन सवारी तोडफोड गरेका छन्। एउटामा आगो नै लगाएका छन्। प्रहरी र बन्दकर्ताबीच झडप हुँदा ७-८ जना घाइते भएका छन्। प्रहरीसँगको झडपपछि बन्दकर्ताले सवारी साधन तोडफोड तथा आगजनी गरेका छन्। बन्दकर्ताले बिहानैदेखि सडकमा बाँस र ढुंगा राखेर अवरोध सृजना गरी यातायात बन्द गरेकोमा प्रहरीले अवरोध हटाई यातायात सञ्चालन गर्न खोज्दा इटहरीको पश्चिम चोक र चौरास्त चोकमा झडप भएको हो। झडपमा स्थानीय रवीन दाहाल, नारायण ढुंगाना, तीर्थ पराजुली, कोवित कार्की, रामु पोखरेललगायत् घाइते भएका छन्। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। झडपपछि प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै बन्दकर्ताले सवारी तोडफोड गरिएको बताएका छन्। बन्दकर्ताले बस, ट्रक, ट्रयाक्टरलगायत् सवारीमा ढुङ्गा प्रहार पनि गरेका थिए। उनीहरुले मे १ ख १२८८ नम्बरको यात्रुबाहक बस आगजनी गरेका छन्। आगजनीबाट बस पूर्णरुपमा जलेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद सिटौलाले बताए। यात्रुलाई भने ओरालेर आगजनी गरेकाले मानवीय क्षति भने हुन पाएन्।धरानबाट इटहरी आउँदै गरेको उक्त बसलाई १२-१५ जनाको सङ्ख्यामा रहेका बन्दकर्ताको समूहले मट्टीतेल खन्याएर आगजनी गरेका सोही बसका कण्डक्टर मोहन बास्तोलाले बताए। 'बन्दकर्तालाई गाडी घुराउँछु भनेर हारगुहार गरें,' उनले भने- 'एक्कासि आएर कुरै नसुनी आगो लगाएर भागे।' सो बस आगजनी गरेको भन्दै प्रहरीले ट्याक्सी चालक इटहरी-४ का अमृत पुरीलाई निर्घात कुटपिट गरेको छ। आमहडतालका कारण इटहरी बजार, पसल, शैक्षिक संस्था, व्यापार-व्यवसाय ठप्प छ। क्षेत्रीय रङ्गशालाको निर्णय नगरुञ्जेलसम्म आमहड्ताल फिर्ता नलिने रङ्गशाला निर्माण सङ्घर्ष समिति सदस्य ईश्वरी पराजुलीले बताए। उनले शान्तिपूर्ण आमहड्तालको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरेको दाबी गर्दै बिहीबारदेखि झन् कडा आन्दोलनमा उत्रने बताए।

No comments: