News

Oct 23, 2009

चितवन र नवलपरासी क्षेत्रमा ८ सय यौनकर्मी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन कात्तिक ६ - चितवन र नवलपरासीका प्रमुख राजमार्गमा करिब ८ सय यौनकर्मी महिला भएको पाइएको छ। यस क्षेत्रमा काम गर्दै आएको एक संस्थाका कार्यकारी निर्देशक शालिग्राम शर्माले यो क्षेत्रमा यौन व्यवसाय गर्नेहरु बढ्दै गएको बताए। र, भने- आर्थिक अवस्था कमजोर रहेका महिला यस पेशामा लागेको पाइयो। चितवनमा पछिल्लो समयमा मुख्य राजमार्ग क्षेत्रमा यौन व्यवसाय गर्ने महिला बढ्दै गएको सरोकारवाला संघ संस्थाले जानकारी दिएका छन्। सहभागी संस्थाले संचालन गरेको सुरक्षित राजपथ जनस्वाथ्य कार्यक्रम तथा एकिकृत स्वास्थ्य सेवा कार्यक्रमले गरेको अनुसन्धानले राजमार्ग क्षेत्रमा यो व्यवसाय सजिलै फस्टाउँदै गएको पत्ता लागेको जानकारी दिइयो। तर राजमार्गमा हुने यौन व्यवसायलाई सुरक्षित बनाउन पनि उत्तिकै चुनौतीपूर्ण रहेको संस्थाका प्रतिनिधिले बताए।यस पेशामा लागेका महिला खुलेर समाजमा आउन नसकेका कारण रोकथाममा अप्ठेरो परेको वक्ताले बताएका थिए। आर्थिक सहयोग नहुनु, यौन पेशाबाट फर्केका महिलालाई समाजमा गरिने हेय, भेदभाव, दुर्व्यवहार जस्ता कारणले उनीहरु यो पेशा छाडेर आउन नचाहने गरेको उनीहरुको भनाई थियो। साथै यौनकर्मी महिला कम शिक्षित भएकाले उनीहरुमा आफ्नो स्वास्थ्य र भविष्यबारे सचेत हुने सम्भावना पनि नरहेको अनुसन्धानले देखाएको कार्यक्रममा जानकारी दिइएको थियो। उनीहरुको पुनर्स्थापनाका लागि राज्यको कुनै पनि नीति तथा प्रष्ट योजना नहुनु र पुग्दो आर्थिक सहयोग प्राप्त नभएकाले पनि समस्या थपिएको राजमार्गमा अपनाइने यो पेशाको अध्ययनमा संलग्न कर्मचारीले बताए। सुरक्षित यौन व्यवसायको कानुन नेपालमा नभएकाले पनि यकिन तथ्याङक बाहिर आउन नसकेको सहभागी संस्थाले जनाएका छन्। यस पेशाले यौनकर्मीमा मात्र नभई त्यसमा संलग्न रहने पुरुष र तिनका परिवारसमेत जोखिम पार्ने भएकाले स्वास्थ्य कार्यक्रमहरु राजमार्गमा व्यवस्थित गर्नुपर्ने वक्ताहरुको जोड थियो। समुचित कार्यक्रम आए जिल्ला विकास समितिले यस क्षेत्रमा काम गर्न सक्ने चितवनका स्थानीय विकास अधिकारीको भनाई थियो। यस क्षेत्रलाई सुरक्षित स्वास्थ्य प्रदान गर्नेखालका काम गर्न संघ-सस्थालाई सुझावसमेत उनले दिए। जसका लागि राजमार्गका सुरक्षाकर्मी, स्वास्थ्य निकायलगायतलाई सहभागी गराएर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औल्याए।

No comments: