News

Oct 16, 2009

पूर्वविजेता अर्जेन्टिना पनि विश्वकपमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोन्टेभिडियो, उरुग्वे, अंकतालिकामा उतारचढाबको नाटकलाई अन्त्य गर्दै अर्जेन्टिना दक्षिण अफ्रिकामा हुने विश्वकप फुटबल प्रतियोगिता २०१० को अन्तिम चरणका लागि छनोट भएको छ। बुधबार राति खेल सकिन ६ मिनेट बाँकी हुँदा स्थानान्तरणमा आएका मारियो बोलाट्टीले गोल गरेपछि अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराएको हो। दुवै टोलीबाट गोल नभएको अवस्थामा खेल बराबरीतिर धकेलिइरहेको थियो। खेलको ८०औं मिनेटमा गोन्जालो हिग्वेनको सट्टामा मैदान उत्रेका बोलाट्टीले सानदार गोल गर्दै टोलीको साख बचाए। जितसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकी समूहबाट २८ अंक जोड्दै चौथो टोलीका रूपमा अफ्रिकाको यात्रा तय गरेको छ। अगाडिका ब्राजिल, पाराग्वे र चिली पहिल्यै विश्वकपका लागि तयार भइसकेका थिए। पाँचपटकको च्याम्पियन एवम् समूहविजेता ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकियो भने पाराग्वेले कोलम्बियालाई २-० ले नतिजा सुम्पियो। उता समूहमा तेस्रो स्थानमा रहेको चिलीसित पराजित हुँदा इक्वेडरले प्लेअफमा खेल्ने धोको पूरा गर्न पाएन। अर्जेन्टिनाको यो जितसँगै पूर्वफुटबलस्टार एवम् टोली प्रशिक्षक डिएगो म्याराडोनाको अठोट पूरा भएको छ। विश्वकप पुग्न निकै संघषॅ झेलिरहेको टोली हिजोको खेल जित्नैपर्ने दबाबमा थियो। म्याराडोना सबैतिरबाट आलोचित बन्दै सबैभन्दा खराब प्रशिक्षकको आरोपले घेरिँदै आएका थिए। तर यस जितबाट सबैको मुख टालिएको र आफ्नो लक्ष्य पूरा भएको उनले बताएका छन्। सो खेलमा म्याराडोनाले कार्लोस टेभेज, पेरुविरुद्ध निर्णायक गोल गरेका मार्टिन पालेर्मोलाई बेन्चमै राख्ने आँट देखाएका थिए। ४८ वर्षीय म्याराडोनाले भने- ‘जसले राष्ट्रिय टोलीमा विश्वास गर्दैन, जसले मलाई फोहोरको थुप्रोझैं सम्झे, उनीहरूले बुझून्- हामीले उरुग्वेजस्तो बलियो टोलीलाई हराउँदै विश्वकप पुग्ने सौभाग्य प्राप्त गरेका छौं।’ म्यानेजर कार्लोस बिलार्र्डोसँग आफ्नो झगडा भएको समाचार छापिएको प्रति स्पष्ट गर्दै म्याराडोनाले भने- ‘उनीहरूले गलत सूचना प्रवाह गरेका थिए। साँचो कुरा थाहा पाएर मात्र छाप्नुपर्छ।’ शुरूमै उरुग्वेका मार्टिन कासेरेस दोस्रो पहेँलो कार्ड पाएर मैदानबाहिर जानुपर्दा खेलले फरक मोड पक्रेको थियो। गोलको अवसर गुमाउँदै हार स्वीकार गरेपछि उरुग्वे समूहमा पाँचौं स्थानमा खुम्चियो। टोलीले अब प्लेअफबाट भाग्यपरीक्षण गर्नेछ। उरुग्वेले दक्षिण अफ्रिका पुग्न उत्तर र केन्द्रीय अमेरिकी तथा क्यारिबियन (कनकाफ) छनोट समूहको चौथो टोली कोस्टारिकासँग प्लेअफ भिडन्त गर्नुपर्नेछ। सो समूहको छनोट चरणमा कोस्टारिका संयुक्त राज्य अमेरिकासँग २-२ को बराबरी नतिजा बेहोर्दै प्लेअफ खेल्न बाध्य भएको थियो। एल साल्भाडोरलाई १-० ले पन्छाउँदै होन्डुरस तेस्रो स्थानमा उक्लेर अन्तिम चरण पुग्न सफल भएको थियो। होन्डुरसले विश्वकपमा सन् १९८२ पछि दोस्रोपटक खेल्न पाएको हो। कनकाफबाट समूहविजेता अमेरिका र दोस्रो स्थानको मेक्सिको पहिले नै विश्वकपमा पुगिसकेका थिए।

No comments: