News

Oct 24, 2009

हरेक कार्यक्रममा राष्ट्रिय झण्डा र पोसाक अनिवार्य लगाउनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ७ - नयाँ संविधान तर्जुमाका लागि गृहकार्य भइरहेका बेला मुलुकको एकताका प्रतीक मानिने राष्ट्रिय गान, झण्डा, पोसाक तथा चराको नाम बदल्नु पर्दछ भन्ने आवाजलाई चुनौती दिँदै नेपाली काङ्ग्रेस समर्थित मजदुर सङ्गठनको एक समितिले भने राष्ट्रिय पोसाक र झण्डालाई अनिवार्य गरेको छ।नेपाल ट्रेड युनियन काङ्ग्रेस-स्वतन्त्र क्षेत्रीय समिति बागमतीको हालै बसेको बैठकले समितिका पदाधिकारीहरूले समितिद्वारा आयोजना गरिने हरेक कार्यक्रममा राष्ट्रिय पोसाक अनिवार्य लगाउनुपर्ने र कार्यक्रममा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो। 'राष्ट्रिय पोसाक, झण्डा आदिले हरेक मुलुकको पहिचान कायम राख्ने भएकोले वर्षौंदेखि प्रचलनमा रहेका यी राष्ट्रिय धरोहरहरूको जगेर्ना गर्नु आवश्यक ठानी हामीले यस्तो निर्णय गरेका हौँ', क्षेत्रीय समितिका अध्यक्ष खगेन्द्र खत्रीले बताए। 'यस निर्णयलाई क्रमशः अन्य समितिहरू हुँदै नेपाल ट्रेड युनियन काङ्ग्रेस-स्वतन्त्र र सिङ्गो पार्टीमा पनि लागु गराउन पहल गरिने छ,' उनले भने। उनले सङ्घीयताको नाममा मुलुकलाई विखण्डन गर्न खोज्ने प्रवृत्ति हावी भइरहेकोले यसलाई निरुत्साहित गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताका लागि राज्यको पहिचान राख्ने केही प्रमुख आधारस्तम्भहरूलाई भत्किन दिन नहुनेमा जोड दिए।

No comments: