News

Oct 24, 2009

एमालेमा खनाल र ओली पक्षबीच चर्काचर्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक आज पार्टी मुख्यालय, बल्खुमा बसेको छ । यस्तै पार्टीमा देखिएको विभाजन र असन्तुष्टिका बारेमा पनि बैठकमा छलफल भएको एमालेस्रोतले जनाएको छ । सरकारको नेतृत्व, माओवादीसँगको सम्बन्ध लगायतका बिभिन्न बिषयहरुमा पार्टी संस्थापन पक्ष र प्रभावशाली नेता केपी शर्मा ओली पक्षधरबीच तीब्र मतभेद देखिएको अवस्थाबारे पनि बैठकमा छलफल भएको छ । आजको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । बैठकमा राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीका तर्फबाट दलीय समझदारी खोज्ने प्रयास जारी राख्ने निर्णय भएको छ । यस्तै बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालको आसन्न भारत भ्रमणका बारेमा पनि छलफल भएको एमालेका वरिष्ठ नेता एवं प्रधानमन्त्री माधवकुमार नेपालले सञ्चारकर्मीहरुलाई बताउनुभयो । यस्तै पार्टी अनुशासन आयोगको निर्णयविपरीत विभिन्न जिल्लामा समानान्तर संगठनहरु खोलिएको बारेमा पनि छलफल हुने एमालेस्रोतले जनाएको छ । अध्यक्ष खनाल पक्षधरले निर्वाचितहरुलाई पाखा लगाएर आफ्नो पक्षलाई काँखी च्याप्ने काम गरेको भन्दै ओली पक्षधरले विभिन्न जिल्लामा समानान्तर संगठन खोलेका छन् । पार्टीका शीर्ष नेताहरुबीच मतभेद बढ्दै गएपछि केही दिन अगाडि प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल र केपी शर्मा ओलीबीच राजधानीको फाइभ स्टार होटल सोल्टीमा वार्ता भएको थियो । पछिल्लो समयमा अध्यक्ष खनाल र ओलीबीच बोलचाल समेत बन्द भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । दुई पक्षमा स्पष्ट रुपमा विभाजित पार्टी नेताहरुबीच आजको बैठकमा चर्काचर्की भईरहेको समेत स्रोतले जनाएको छ ।

No comments: