News

Oct 29, 2009

नेवानिले सन् २०१० भित्रमा दुईवटा जहाज ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ कात्तिक,नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले सन् २०१० भित्रमा दुईवटा जहाज ल्याइने बताएका छन् ।जहाज खरिद प्रक्रिया सम्बन्धमा हालै निगम सञ्चालक समितिले गरेको निर्णयबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कंसाकारले सो जानकारी दिएका हुन् । '२०१० को मध्यसम्ममा वाइडबडीको विमान भित्र्याउने तथा सोही वर्षको अन्त्यसम्म न्यारोबडीको जहाज भित्र्याउने योजना छ,' कंसाकारले भने । उनले जहाज भित्रिने निश्चित मिति भने कम्पनीसँगको खरिद सम्झौतापछि मात्रै तय हुने जानकारी दिए । निगम सञ्चालक समितिले जहाज खरिद प्रक्रिया अघि बढाउन एयरबसको टोलीलाई एक/डेढ महिनाभित्रै नेपाल बोलाउने तयारी गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कंसाकारले एयरबसको टोली नेपाल आएपछि, सिटको प्रकार, रंगरोगनलगायत अन्तिम मूल्यका विषयमा टुंगो लगाई सम्झौता गर्ने बताए ।कंसाकारले विमान छनोट प्रक्रिया पारदर्शी भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको बताएका छन् । 'विमान छनोट गर्दा सार्वजनिक खरिद नियमावली तथा निगमको आफ्नै नियमावलीअनुसार नै एयरबस छनोट गरिएको हो । यसमा विवाद गर्नुपर्ने ठाउँ छैन,' उनले भने, 'लामो समयसम्म प्राविधिक तथा प्रत्यक्ष उडानमा संलग्न टोलीले एयरबस छनोट गरेको र सोही टोलीले एक वर्षसम्म मर्मतसम्भार जिम्मा लिने बताएको छ ।' अमेरिकी कम्पनी जेटको तुलनामा पान्स, जर्मनी तथा इंग्ल्यान्ड सरकारको संयुक्त लगानी भएको एयरबस कम्पनीको विमान गरिद गर्न २५ देखि ३० करोड रुपैयाँ सस्तो पर्ने दाबी निगम अध्यक्ष कंसाकारको छ । 'प्राविधिक तथा अन्य सेवा-सुविधाका हिसाबले दुवै कम्पनी समान भएकाले सञ्चालक समिति बैठकले कुनै एक आधार छान्नुपर्ने थियो,' उनले भने, 'लागत आधार मान्दा एयरबस सस्तो देखियो ।'निगम सञ्चालक समितिको ९ कात्तिकमा बसेको बैठकले एयरबस कम्पनीको विमान खरिद गर्ने निर्णय गरेको थियो । २५ वर्ष पुरानो दुई बोइङबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निगमले २०६५, २५ चैतमा वाइडबडीको एक तथा न्यारोबडीको एक गरी दुई विमान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसमा बोइङ र एयरबसले आवेदन दिएका थिए । किन्न लागिएको जहाजको वाइडबडीमा २ सय ७९ सिट क्षमता भएको ए ३३०-२०० तथा न्यारोबडीमा एक सय ५० सिट क्षमता भएको ए ३२०-२०० रहेका छन् ।

No comments: