News

Oct 20, 2009

तिहारमा विभिन्न घट्नाबाट ४ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ कात्तिक ३- तिहारको अवधिमा दाङ, सल्यान र रोल्पामा गरी तीन जनाको ज्यान गएको छ। तीमध्ये तिहारमा मदिरा सेवन गरेर भएको छिमेकीको झगडामा रोल्पा र दाङमा एक एक जना र अत्यधिक मदिरा सेवन गरेर अर्का एक जनाको सल्यानमा मृत्यु भएको हो। त्यस्तै दाङमा एक व्यापारीको हत्या पनि भएको छ। दाङ देउखुरीको गंगापरस्पुर गाविस–५ मा आइतबार साँझ भएको झगडामा एक जनाले आफ्ना छिमेकीलाई छुरा प्रहार गरेपछि उनको मृत्यु भएको हो। स्थानीय ३५ वर्षीय भरत बिकले आफ्नै छिमेकी दामोदर नेपालीलाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट गम्भीर घाइते भएका नेपालीलाई अस्पतालमा उपचार गराउँदा-गराउँदै सोमबार मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अत्याधिक रक्तस्राब भएपछि ज्यान गएको हो। छुरा प्रहार गर्ने बिकलाई गढवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तिहारका बेला दुवैले मादक पदार्थ सेवन गरेका थिए। सामान्य घरायसी विवाद बढ्दै गएपछि विकले नेपालीमाथि छुरा प्रहार गरेका थिए।त्यस्तै दाङमा एक व्यापारीको हत्या भएको छ। दाङ घोराहीमा माछाको पसल गर्ने २२ वर्षीय साकिर अली फारुकीको हत्या भएको दाङ प्रहरीले जनाएको छ। उनको शव सोमबार भेटिए पनि मंगलबारमात्रै पहिचान भएको हो। गत शुक्रबार हराएका उनको शव देउखुरीको एउटा जंगलमा भेटिएको थियो। प्रहरीले हत्याबारे छानविन भइरहेको जनाएको छ। यसैबीच मुस्लिम मुक्ति मोर्चा दाङका जिल्ला संयोजक कुद्दवुद्धिन फारुकीले विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन्। सल्यान प्रहरीका अनुसार सल्यान मूलखोला–५ का भयराम बिष्टले अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हो। तिहारको बेलामा गाउँमा धेरै मदिरा पिएपछि ४५ वर्षीय बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै रोल्पामा पनि छिमेकीबीच जग्गाको विषयमा विवाद भएपछि भएको कुटपिटमा एक जनाको ज्यान गएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा थवाङ गाविस–४ का दलबहादुर रोका र सोही ठाउँ निवासी मुरीमान रोकाबीच जग्गाको साँध (सीमा) को विषयलाई लिएको लामो समयदेखि विवाद हुँदै आएको थियो। सोमबार उनीहरुबीच विवाद निकै बढेपछि भएको कुटपिटका कारण मुरीमान रोकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने दलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

No comments: