News

Oct 15, 2009

पेम्बा शेर्पाले जलवायुको सन्देश ओबामा समक्ष पुर्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल पेम्बा दोर्जी शेर्पाले जलवायु परिवर्तनको सन्देश अमेरिकी राष्ट्रपतिसमक्ष पुर्याउने भएका छन्। आउँदो नोभेम्बरमा हुने अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेर यो सन्देश दिनेछन्। यससम्बन्धी जानकारी दिन बुधबार आयोजित कार्यक्रममा शेर्पाले विकसित राष्ट्रका कारण भएको जलवायु परिवर्तनको असरका बारेमा उनीहरूलाई सचेत गराउन यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो। गत साता मात्र शेर्पा जलवायु परिवर्तनको सन्देश बोकी सगरमाथा आधार शिविरमा पुगेका थिए। बढ्दो तापक्रमले गर्दा बढेका हिमनदी र पग्लिँदै गरेका हिमालमाझ ३ सय ५० र हाम्रो हिमाल बचाऊँ भन्ने सन्देश बोकेका ब्यानरहरूसहित उनी आधार शिविर पुगेका हुन्। सो सन्देशका ब्यानरहरू उनले आगामी साता हिमाल आरोहण गर्ने टोलीलाई हस्तान्तरण गर्ने भएका छन्। वैज्ञानिकहरूका अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको सुरक्षित मात्रा ३ सय ५० पीपीएम रहेको छ जबकि अहिले यसको मात्रा ३ सय ९० पुगिसकेको छ। यसका कारण हिमाल र जैविक विविधता खतरामा परेको उनीहरूको भनाइ छ।

No comments: