News

Oct 17, 2009

सुजाताको बढुवा प्रकरणपछि काँग्रेसमा विवाद कायमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा बढुवा प्रकरणपछि पार्टीभित्र चुलिएको विवादबारे नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आज आइतबार पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । सभापति कोइरालाले मन्त्रीहरुसँग छलफलपछि आफ्नो आगामी रणनीति तय गर्ने कोइराला निकट स्रोतले जनाएको छ । यस अगाडि उपप्रधानमन्त्रीमा बढुवा गरिएपछि पार्टीमा तीब्र विवादमा परेकी सुजाताले आफ्नो पक्षमा समर्थन जुटाउन पार्टीका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुसँग शनिबार गरेको छलफलमा अधिकांश मन्त्रीहरुले पार्टीको निर्णयबेगर गरिएको बढुवाले पार्टी र स्वयं सभापति कोइरालालाई घाटा पर्ने बताएपछि र्समर्थन जुटाउन सुजाताले आफ्नो पिता कोइरालालाई गुहारेको स्रोतको दावी छ । सभापति कोइरालाले आफ्नो एकलौटी निर्णयले सुजातालाई उपप्रधानमन्त्री बनाउन सफल भएपछि पार्टीभित्र व्यापक आलोचना सहनु परेको छ । काँग्रेसका अधिकांश नेताहरुले सभापति कोइरालाको हुकुमी शैलीको तीब्र विरोध गरिरहेका छन् । पार्टी केन्द्रीय समितिको केही दिन अगाडि बसेको बैठकले सुजाता प्रकरणबारे बैठकमा सभापति कोइरालाको स्पष्टीकरण माग गर्ने निर्णय गरिसकेको छ । यसैबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउने पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको एकल निर्णयबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभएको छ । यसबारेमा सभापति कोइरालाकै उपस्थितिमा छलफल हुने उहाँले बताउनुभयो । वीपी कोइरालाको संग्रहालय, सुन्दरीजलको अवलोकनपछि शनिबार बोल्दै कावा साभपति कोइरालाले उक्त कुरा बताउनुभएको हो ।

No comments: