News

Oct 14, 2009

सुजातालाई कार्यवाहक सभापति बनाउने मनस्थितिमा कोइराला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४अक्टोबर,काँग्रेसमा सुजाता प्रकरणपछि खैलाबैला मच्चिएको छ । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले हुकुमी शैलीमा आफ्नी छोरी सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिएपछि पार्टीको संस्थागत निर्णयबिना नै प्रधानमन्त्री माधवकुमार नेपालले सुजातालाई उपप्रधानमन्त्री नियुक्त गरेलगत्तै काँग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी सभापति कोइरालाको हुकुमी शैलीको तीब्र विरोध गर्दै आएका छन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलमा विरोध हुँदाहुँदै प्रधानमन्त्री नेपालले सभापति कोइरालाको दबाबका भरका सुजातालाई उपप्रधानमन्त्री बनाएर संस्थागत पद्धतिमाथि नै प्रहार गरेका छन् । संस्थागत निर्णय विपरीत नचल्न पार्टीका कावा सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसी लगायतका वरिष्ठदेखि कनिष्ठ नेताहरुले पार्टी सभापति कोइरालालाई पटक पटक सुझाव दिए पनि सभापति कोइरालाले एकलौटी निर्णयमा आफ्नी छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन सफल भएका छन् । पार्टीको भविष्यमाथि खेलवाड गर्ने सभापति कोइरालाको काँग्रेसभित्र तीब्र आलोचना भईरहेको छ । आगामी कात्तिकको दोस्रो साता तय गरिएको पार्टीको महासमिति बैठक रोक्न सभापति कोइरालाले पटक पटक दिएको दबाब केन्द्रीय कार्यसमितिले अस्वीकार गरेपछि तिलमिलाएका सभापति कोइरालाले एकलौटी निर्णयबाट आफ्नी छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएका छन् । सभापति कोइरालाको हुकुमी शैलीको विरोध नहुने हो भने उनले आगामी दिनमा पार्टीलाई क्षति पुग्ने गरी अन्य एकलौटी निर्णय पनि नगर्लान भन्न सकिने अवस्था छैन । विशेष स्रोतका अनुसार सभापति कोइरालाले पार्टीको कार्यवाहक सभापतिमा आफ्नै छोरी सुजातालाई नै जिम्मेवारी दिने तयारी समेत शुरु गरेका छन् । पछिल्लो पटक वर्तमान कावा सभापति सुशील कोइराला आफ्ना एकलौटी निर्णयविरुद्ध उत्रिएपछि सभापति कोइरालाले सुजातालाई कार्यवाहक सभापति बनाउन आफू निकटका केही पात्रहरुसँग परामर्श शुरु गरेको स्रोतको दावी छ ।

No comments: