News

Nov 3, 2009

हङकङमा नवनियुक्त वाणिज्यदूतको विरोधमा जनजाति महासंघ

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
कात्तिक १७ महावाणिज्यदूतमा विनोद उपाध्याय (नेपाल)को नियुक्ति खारेज गर्न यहाँका आदिवासी जनजाति समुदायले माग गरेका छन्। उनको नियुक्ति खारेज नगरे चरणवद्ध विरोध कार्यक्रम गर्ने नेपाल आदिवासी जनजाति महासंघ हङकङले जनाएको छ। 'प्रधानमन्त्री नेपालले हाम्रो पहिलेदेखिको माग पन्छाएर जालझेलपूर्ण तरिकाबाट आफ्नै भाइलाई महावाणिज्यदूत नियुक्त गरेका छन्,' सोमबार साँझ अबेर आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले भने, 'त्यसलाई खारेज गरी आदिवासी जनजाति मूलको व्यक्तिलाई महावाणिज्यदूत नबनाए सरकारले आन्दोलनको सामना गर्नु पर्नेछ।'उपाध्याय हङकङ महावाणिज्यदूताबासमा आएपनि उनलाई असहयोग र बहिस्कार गरिने चेतावनी चेम्जोङले दिए। उनले भने, "हङकङको कानुनको परिधिभित्र रहेर आन्दोलन गर्छौँ, स्थिति हेरेर कालो झण्डा प्रदर्शन, धर्ना, असहयोग र सामाजिक बहिस्कारसम्मका कार्यक्रम ल्याउँछौँ।" विरोध प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासंघले सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको दावी छ। हङकङमा बस्ने करिब बीस हजार नेपालीमध्ये ८९ प्रतिशत आदिवासी जनजाति भएको दावी गर्दै समावेशी सिद्धान्त र आदिवासी जनजाति समुदायका गोर्खा आर्मीको भावनाको कदर गर्न त्यही मूलको व्यक्तिलाई महावाणिज्यदूत बनाउन आग्रह गरिएको चेम्जोङको तर्क छ। महासंघका उपाध्यक्ष विष्णु पाख्रिनले हङकङमा लाहुरे बनेर आदिवासी जनजातिले रगत बगाएकाले त्यही समुदायको महावाणिज्यदूत पठाएर उनीहरूको भावनाको कदर गर्न आग्रह गरे।आदिवासी जनजाति महासंघ हङकङले अघिल्लोपटक केशव भट्टराई महावाणिज्यदूत भएर आएदेखि विरोध गर्दै आएको छ। प्रधानमन्त्री नेपाल अघिल्लो वर्ष एमालेको कार्यक्रमका लागि हङकङ आउँदा ज्ञापनपत्र बुझाएर आफ्नो माग राखेको स्मरण गर्दै अध्यक्ष चेम्जोङले भने, 'हामीले एमाले अध्यक्ष झलनाथ खनाल, माओवादीका नेता देव गुरुङसँग पनि यो माग राख्यौँ र नेपाल प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पनि दियौँ तर कुनै प्रतिक्रिया आएन।'

No comments: