लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १८ सरकारले विपक्षी एकीकृत नेकपा माओवादीलाई जारी दोस्रो चरणको आन्दोलन स्थगित गरी वार्तामा आउन माओवादीलाई पुनः आह्वान गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले माओवादीको आन्दोलन शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्दै उसलाई दोस्रोपटक वार्तामा आउन औपचारिक रूपमा आग्रह गरेको हो।सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले बैठकपछि भने- 'माओवादीको आन्दोलन शान्तिपूर्ण हुने विश्वास मन्त्रिपरिषद् बैठकले गरेको छ।'सरकारले माओवादीले शान्ति सुरक्षा, अमनचयन कायम गरी सार्वजनिक सम्पत्ति तथा जनताको जिउधनको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। पोखरेलका अनुसार बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार बेलुका एमाले नेता केपी शर्मा ओलीको घरमा प्रमुख तीन पार्टीका प्रमुख नेताबीच भएको वार्ता प्रक्रिया, उपलब्धिका बारेमा मन्त्रीहरूलाई जानकारी गराएका थिए।मन्त्रिपरिषद्ले वार्ता र छलफललाई सहजरूपमा अघि बढाई व्यवस्थापिका संसद् सञ्चालन र मधेसवादी दलद्वारा उठाइएका माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरेको जानकारी पोखरेलले दिए।बैठकले लामो समयदेखि बन्द भई पूर्ववर्ती सरकारले सञ्चालन गर्ने निर्णय गरेको हेटौँडा कपडा उद्योगको अवस्था हेरी त्यसलाई लिक्विडेसनमा लैजाने र निजामती कर्मचारीको शैक्षिक योग्यता प्रमाणीकरणसम्बन्धी निर्देशिका तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
No comments:
Post a Comment