News

Nov 3, 2009

सेना सहित सबै सुरक्षा अंगलाई 'हाइएलर्ट'मा रहन निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १७- प्रधानमन्त्री माधवकुमार नेपालले आकस्मिक रुपमा चार वटै सुरक्षा अंगका प्रमुखलाई मन्त्रिपरिषद बैठकमा बोलाएका छन्। मन्त्रिमण्डलका राज्य र सहायक मन्त्रीहरुलाई समेत बोलाइएको बैठकले माओवादी आन्दोलनको समीक्षा गर्दै सेना सहित सबै सुरक्षा अंगलाई 'हाइएलर्ट'मा रहन निर्देशन दिएको छ। प्रधानमन्त्रीले बोलाएपछि मन्त्रिपरिषद बैठक सुरु भएको २० मिनेटपछि नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरी, सशस्त्र प्रहरी बलका महानिरीक्षक सनदकुमार बस्नेत तथा राष्ट्रिय अनुसन्धानका प्रमुख अशोकदेव भट्ट मन्त्रिपरिषद बैठकमा भाग लिन प्रधानमन्त्रीको कार्यलय सिंहदरबार पुगेका थिए। बैठकबाट बाहिरिने क्रममा मिडियाकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले पोखरेलले माओवादीले जारी गरेको नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्ने कार्यक्रमले शान्ति सम्झौता उल्लंघन गरेको आरोप लगाए। शान्ति सम्झौता भंग गर्ने माओवादी गतिविधि बारे नेपालस्थित राष्ट्रसंघीय शान्ति मिसन अनमिनलाई सचेत गराउने निर्णय सरकारले गरेको उनले जानकारी दिए। माओवादीलाई वार्तामा आउन आह्वान गर्दै मन्त्री पोखरेलले माओवादीले शान्ति सम्झौता भंगको घोषणा नगरेसम्म सेना परिचालन नहुने बताए। आन्दोलनका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई व्यापक रुपमा परिचालन गर्ने निर्णय गरेको उनले बताए। बैठकले सेनाका विभिन्न अंगहरुलाई हाइ एलर्टमा रहन निर्देशन दिएको छ।
मन्त्रिपरिषद बैठकले प्रारम्भिक रुपमा माओवादीको आन्दोलन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको थियो। नगरपालिका कब्जा, सार्वजनिक सम्पत्तिमा आगजनी जस्ता कुराहरुले माओवादी आन्दोलन हिंसात्मक दिशातर्फ लागेको निष्कर्ष सरकारले निकालेको छ।'सुरक्षा प्रमुखहरुलाई मन्त्रिपरिषदमा बोलाउनुको मतलब सरकार सेना परिचालनको स्थितिमा पुगेको हो ?' भन्ने मिडियाकर्मीको प्रश्नमा शान्तिमन्त्री रकम चेम्जोङले भने -'अहिले त्यस्तो सम्भावना छैन। सेना प्रमुखको हैसियतले मात्र प्रधानसेनापतिलाई बोलाइएको हो, अन्य सुरक्षा अंग नै शान्ति सुरक्षा कायम गर्न काफी छन्।'

No comments: