News

Nov 3, 2009

धनकुटामा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ नोभेम्बर, २००९, एमाले निकट युथफोर्सका कार्यकर्ताहरुले आज मंगलबार बिहानै एकीकृत माओवादीको जिल्ला कमिटी कार्यालय र अन्य जनवर्गीय संगठनका कार्यालयहरु तोडफोड र आगजनी गरेपछि धनकुटामा स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । प्राप्त समाचार अनुसार युथफोर्सले सिधुवा बजारमा रहेका माओवादी कार्यकर्ताका एक दर्जन घरमा तालाबन्दी गरेका छन् । सोमबार राती धनकुटाको सिधुवा बजारमा युथफोर्सका कार्यकर्ताहरु चढेको पार्किङ गरेर राखिएका मारुती भ्यान र नौ वटा मोटरसाइकल माओवादी कार्यकर्ताहरुले जलाई दिएको भन्दै युथफोर्सका कार्यकर्ताहरुले आज बिहानै माओवादी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका हुन् ।युथफोर्सका कार्यकर्ताहरुको एक समूहले हुलाकटोलमा रहेको माओवादीको जिल्ला कमिटी कार्यालय र जनवर्गीय संगठनका बोर्ड र कागजपत्र बाहिर ल्याएर जलाई दिएको थियो । सोमबार राती सिधुवा बजारमा सवारी साधनमा भएको आगजनीको विरोधमा युथफोर्सले आजदेखि अनिश्चितकालीन धनकुटा बन्दको आह्वान गरेको छ । आगजनीमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखी युथफोर्सले आज जिल्ला बन्दको आह्वान गरेको हो । बन्द आह्वानका कारण धनकुटामा आज बिहानदेखि नै सवारी साधन ठप्प बन्न पुगेको छ भने बजार, पसल समेत बन्द रहेका छन् ।

No comments: