News

Nov 1, 2010

लिम्वुवानका केन्द्रीय सदस्य सहित तीन नेता पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, कार्तिक १५ - निर्वाचन आयोगको काममा अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य सहित तीनजनालाई सोमबार विहान धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा परिषदका केन्द्रीय सदस्य भीम इधिङ्गो, सुनसरी अध्यक्ष डम्बर खजुम र युवा परिषद अध्यक्ष अमित थेवे रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । निर्वाचन आयोगले संचालन गरेको मतदाता परिचय पत्रका लागि नामावली संकलनमा अवरोध गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालयबाट आएका प्रहरी निरिक्षक केशब भट्टराईको नेतृत्वमा आएका टोलीले धरान-९ स्थित आचार्यलाइनमा रहेको परिषदको केन्द्रीय सम्पर्क कार्यालयबाटै पक्राउ गरिएका हुन् । धरानका विभिन्न वडाहरुबाट जफत गरेका मतदाता परिचय पत्रका लागि संकलित नामावलीको कागजपत्र नेपाल पत्रकार महासंघ सुनसरीको रोहवरमा निर्वाचन आयोगलाई जिम्मा दिए लगतै प्रहरीले पक्राउ गरेको थियो । यसै वीच आफ्ना नेता कार्यकर्तालाई सरकारले पक्राउ गर्न थालेकोमा सोमबार अरुणपुर्वका नौ जिल्लामा सांकेतिक बन्द गर्ने र मंगलबारदेखि अनिश्चित कालिन हडताल गर्ने घोषणा परिषद्ले गरेको छ । पक्राउ परेका नेता कार्यकर्तालाई विना शर्त रिहा गर्नुपर्ने र निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य रोक्नु पर्ने माग गर्दै नौ जिल्लामा अनिश्चित हड्तालको घोषणा गरेको हो । मंचका केन्द्रीय अध्यक्ष समेत रहेका परिषद्का अध्यक्ष कुमार लिङ्देनले मतदाता नामावली संकलन र परिचयपत्रको बारेमा २५ दल, निर्वाचन आयोग र लिम्बुवान, खम्बुवान जस्ता स्वायत्ततावादीसंग आइतवार भएको वार्ता विना निष्कर्षटुङ्गीए पछि आफ्ना नेता कार्यकर्ताहरुलाई हिरासतमा लिने काम सुरु गरिएको बताए ।

No comments: