News

Nov 1, 2010

ताररहित (वाइफाई) इन्टरनेट सेवा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले ताररहित (वाइफाई) इन्टरनेट सेवा सुरु गरेको छ । मुलुकका प्रमुख सहरहरूलाई लक्षित गरी आइतबार रातिदेखि यो सेवा सुरु गरिएको हो । शक्तिशाली एन्टेनाको माध्यमबाट काठमाडौं, बुटवल, पोखरा र हेटौंडामा सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । निकट भविष्यमै चितवनमा पनि सेवा सुरु हुने बताइएको छ । आगामी वर्षभित्र मुलुकका सबै प्रमुख सहरमा वाइफाई इन्टरनेट सेवा विस्तार गर्ने कम्पनीले बताएको छ । साथै, नेपालभर वाइफाई इन्टरनेट सेवा विस्तार गर्ने महत्त्वाकांक्षी योजनासमेत ब्रोडलिंकले सार्वजनिक गरेको छ ।
ब्रोडलिंकको वाइफाई इन्टरनेट सेवाबाट ग्राहकले सहज रूपमा र सुपथमूल्यमा इन्टरनेट सेवा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । इन्टरनेट चलाउन ग्राहकले एक हजार रुपैयाँको वायरलेस युएसबी डंगल खरिद गर्नुपर्ने हुन्छ । यसका लागि ३ सयभन्दा बढी आउटलेट सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । ३ सय आउटलेट चाँडै थपिने बताइएको छ ।
कम्पनीको पि्रपेड कार्डबाट ग्राहकले इन्टरनेट चलाउन सक्छन् । इन्टरनेट चलाउन ५६५ देखि १८ हजार रुपैयाँसम्मको कार्ड उपलब्ध हुनेछन् । सेलफोन, ल्पापटप र डेक्सटपमा इन्टरनेट चलाउन सकिनेछ ।
इन्टरनेट सेवासम्बन्धी जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा ब्रोडलिंकका प्रमुख कार्यकारी अधिकृत विनोद तिमिल्सिनाले ग्राहकले आफूले मन लागेको गतिमा इन्टरनेट चलाउन सक्नेगरी प्याकेज तयार गरिएको बताए । कम्पनीकोे वेबसाइटबाटै ब्यान्डविथ स्पिड घटबढ गर्नुका साथै इन्टरनेट प्लान परिवर्तन गर्न सकिनेछ । कुनै पनि समस्याबाट मुक्त इन्टरनेट सेवा सुरु गरिएको तिमिल्सिनाले दाबी गरे । ९ महिनाको परीक्षणपछि मात्र ब्रोडलिंकले व्यावसायिक सेवा सुरु गरेको हो । घरायसी र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने इन्टरनेट सेवा सुरु गरिएको कम्पनीले बताएको छ ।
वाइफाईका साथै ब्रोडलिंकले अन्तर्राष्ट्रिय टेलिफोन सेवा पनि सञ्चालन गरेको छ । यसका लागि पनि ग्राहकले पि्रपेड कार्ड खरिद गर्नुपर्ने हुन्छ । टेलिफोनका लागी भने २ सय ५०, ५ सय, एक हजार र ४ हजार रुपैयाँको कार्ड उपलब्ध छन् । दुवै सेवाको शुल्क भने कम्पनीले बताएको छैन ।

No comments: