News

Apr 4, 2012

कांग्रेसद्वारा सरकारलाई चैत्रसम्मको अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर, चैत्र २२ - कांग्रेस सभापति सुशील कोइरालाले चैत्र मसान्त भित्र शान्ति प्रक्रिया पूरा नभए प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । उनले भट्टराईको राजीनामापछि कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी गरे । प्रेस युनियन धनुषाले वुधवार बिहान जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलमा उनले भने-'चैत मसान्तसम्ममा शान्ति प्रकृया पूरा भएन भन्ने प्रधानमन्त्री भट्टराईको राजीनामा बाहेक अर्को विकल्प छैन ।' मुलुकमा शान्ति र संविधान जारी हुन नसक्नुको प्रमुख जिम्मेवार माओवादी भएको भन्दै उनले वर्तमान सरकारको आचरण सात बुंदे सम्झौताको विपरीत रहेको बताए । संसदीय व्यवस्थाको वकालत गरेका कोइरालाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री तानाशाही हुने दावी गरे । उनले भने-' संसदीय व्यवस्थाको कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्न सकिन्छ तर तानाशाही व्यवस्था स्वीकार गर्न सकिन्न ।' उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले कांग्रेस संघीयता तथा लोकतन्त्रको पक्षमा रहेको दावी गर्दै माओवादीकै ढुलमुले प्रवृतिको कारण शान्ति र संविधान जारी हुन नसकेको दावी गरे । उनले माओवादीहरु शान्ति र संविधानको विपक्षमा रहेको आरोप पनि लगाए । कांग्रेसका वरीष्ट नेता शेरवहादुर देउवाले ४७ सालको संविधान जारी गरिनु पर्ने विषयमा दिएको अभिव्यति बारे संचारकर्मीहरुको जिज्ञासाको जवाफमा उनले त्यसलाई देउवाको निजी विचार भएको बताए । देउवाको अभिव्यक्तिलाई 'फुट फर थट'को संज्ञा दिदै पौडेलले नेपाली कांग्रेस संघीयता,लोकतन्त्र,मानवअधिकार जस्ता लोकतन्त्रका मुद्दाहरुमा पछि नहट्ने प्रतिवद्धता व्यक्त गरे ।

No comments: