News

Apr 3, 2012

नेविसंघ नेताहरुद्वारा पार्टी कार्यालयमा धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २१ - महाधिवेशन माग गर्दै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् । विद्यार्थी नेताहरु मंगलबार विहान ११ बजेदेखि २ घण्टाका लागि धर्नामा बसेका हुन् । पार्टीले मनोनयन गरी विस्तार गरेको नेविसंघ कार्यसमिति जम्बो र भद्दा भएको, त्यसले संगठन चल्न नसक्ने भन्दै उनीहरु संघर्षमा छन् । निर्वतमान सहमहामन्त्री निलकण्ठ रिजालको नेतृत्वमा विघटित कार्यसमितिका कोषाध्यक्ष कुन्दन काफ्ले, केन्द्रीय सदस्य उर्मिला थपलियासहित नेताहरुले सांकेतिक विरोध थालेका हुन् ।
पार्टी सभापति सुशिल कोइरालाले चैत ५ गते एक सय २ सदस्यीय नेविसंघको कार्यसमिति घोषणा गरेका थिए । त्यसमा परेका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय २८ जनाले सामूहिक राजिनामा दिइसकेका छन् । संस्थापना पक्षकै विद्यार्थीहरुले भने महाधिवेशनबाटै सबै विवाद र समस्याको अन्त हुने भन्दै त्यस्तो वातावरणका लागि धर्ना थालेका हुन् । धर्नामा रहेका नेता रिजालले भने- 'यो सांकेतिक विरोध हो । पार्टीले विद्यार्थीका आवाजलाई बुझ्नेछ र महाधिवेशनका वातावरण बनाउन पहल गर्नेछ ।'

No comments: