News

Oct 6, 2009

मोबाइल रेडियो स्टेसन देशका विभिन्न ठाउँबाट प्रसारण हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिपको छतमा ठडिएको छ, एउटा छाता एन्टेना । भित्र छन्, दुईजना प्राविधिक । उनीहरूका हात रेडियो फेडरमा सल्बलाउँछन् । जिपभित्रै छ ट्रान्समिटर, एउटा रेडियो प्रसारणका लागि चाहिने सबै सामान । जिप देशको जुनसुकै कुनामा पुगे पनि त्यसभित्रको रेडियोबाट फालिएको आवाज विश्वभरि सुन्न सकिन्छ । नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको मोबाइल रेडियो स्टेसन देशका विभिन्न ठाउँबाट प्रसारण हुने गर्छ । सधैंझैं एक साता पहिलेचाहिँ सो रेडियोले हेटौंडाबाट आफ्नो आवाज विश्वभरि फालिरहेको थियो । यसरी जिपबाटै सबै दुनियाँलाई सुसूचित गरिरहेको थियो कम्युनिकेसन कर्नरले । कर्नरबाट प्रसारण भइरहेको रेडियो उज्यालो ९० नेटवर्कबाट सबै जनता संविधानबारे सुसूचित भइरहेका थिए । 'प्रविधिको खोजीमा यो सबै सुरु भएको हो,' रेडियो प्राविधिक उदय घिमिरेले सुनाए, 'स्याटलाइटबाट चलेको यो प्रविधि नेपालमै पहिलोपटक भित्रिएको हो ।' अर्का प्राविधिक दिनेश निरौला यो प्रविधिसँग अभ्यस्त हुन सुरुमा आफूहरूलाई निकै गाह्रो भएको सुनाउँछन् । 'सामाजिक परिवर्तनका लागि सुरु गरिएको मोबाइल रेडियोका सुरुका दिन निकै चुनौतीपूर्ण थिए,' उनले सुनाए । कर्नरबाट प्रसारण भएका कार्यक्रम आफ्नै स्याटलाइटबाट अर्थस्टेसन र त्यसका दुइटा च्यानलमार्फत मुलुकभरिका श्रोताले सुन्न सक्ने उदय बताउँछन् । 'स्याटलाइट रिसिभर र इन्टरनेटबाट कर्नरका कार्यक्रम विश्वभर सुन्न सकिन्छ,' उदयले भने । मुलुक द्वन्द्वको चपेटामा परेका वेला गाउँघरका कुरा रेडियोबाट भन्न निकै गाह्रो थियो । ती रेडियो माओवादी वा सुरक्षाकर्मीका तारो बन्थे । त्यस्तो वेला पनि रेडियोबाट जनताको बोली बोल्न कस्सिएको थियो कम्युनिकेसन कर्नर । 'हामीले त्यतिवेला रेडियोले जनताको बोली बोल्नुपर्छ, रेडियो जनताको हो भन्नाका खातिर कम्युनिकेसन कर्नर सुरु गरेका हौँ,' हालै भेटिएका कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले सुनाए, 'द्वन्द्वमा मुलुक च्यापिएका वेला सबैतिरका जनतालाई सधैं सही सूचना पुर्‍याउने सञ्चारमाध्यम थिएनन्, त्यसैको विकल्पमा यो जन्मियो ।' पहिले रेडियो नेपालमा बज्ने रेडियो पत्रिका गाउँघरका कुरा औधि रुचाइएको थियो । पछि त्यस कार्यक्रम रेडियो नेपालले बन्द गरिदिएपछि अब के गर्ने भन्ने विकल्पमा यसको जन्म भएको गुरागाइं सुनाउँछन् । सूचना र सञ्चारका माध्यमबाट सामाजिक परिवर्तनमा सघाउन रेडियो कार्यक्रम निर्माण गर्ने भनेर सुरु गरिएको कम्युनिकेसन कर्नरका सुरुवातका दिन निकै संघर्षमा बिते । रेडियो तालिम, अनुसन्धान र कार्यक्रम उत्पादनका लागि खर्च जुटाउन निकै धौ-धौ परेको गुरागाइं सम्झन्छन् । सुरुमा आदि घन्टा मात्र प्रसारणमा आएको कर्नर अहिले २४ सै घन्टा सूचनामा खेल्छ । कम्युनिकेसन कर्नरले प्रसारण गरेको समाचारको कार्यक्रम कायाकैरन जनताले निकै रुचाएका छन् । धामीझाँक्रीले बोल्ने शब्द 'कैरन'को नाममा बनाइएको समाचार प्रसारण गर्ने कायाकैरनले छिट्टै लोकपि्रयता कमाएको गोपाल सुनाउँछन् । रेडियो कार्यक्रम प्रसारणमा भि-स्याट प्रविधि प्रयोग गर्न थालेपछि कर्नरका समाचार र विश्लेषणका कार्यक्रम थपिएका हुन् । १९ माघ २०६२ मा तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमपछि समाचारमूलक कार्यक्रममा रोक लगाइयो । त्यसको पर्वाहविना कर्नर देशैभरिका जनताले सुन्ने समाचारका कार्यक्रम कायाकैरन र नेपाल दर्पण को निर्माणमा लाग्यो । त्यसैबीच १३ जेठ २०६२ मा सरकारले कम्युनिकेसन कर्नर बन्द गर्ने आदेश दियो । 'अदालतले सरकारलाई संस्था बन्द नगर्न अन्तरिम आदेश दियो र हामीले काम थाल्याँ,' गुरागाईंले सुनाए । २०६३ मा भएको जनआन्दोलनको सफलतापछि देशभरि नै रेडियो खुल्ने क्रम सुरु भएसँगै कर्नरले देशव्यापी समूह खोल्यो- उज्यालो ९० नेटवर्क । सूचनामा काठमाडौंलाई गाउँसित जोडेको कर्नरले यसै वर्षदेखि गाउँलाई काठमाडौंसित जोड्ने र काठमाडौंमा नीतिनिर्माण तहमा बसेकालाई गाउँका नागरिकप्रति उत्तरदायी बनाउने अभियान सुरु गरेको छ । 'टाढाका गाउँलेहरूका आवाजलाई हामी नीतिनिर्माण तहसम्म सुनाउँछौँ,' गुरागाईं सुनाउँछन् । पहिले इमेल, इन्टरनेट, टेलिफोनको हाइबि्रडबाट सुरु भएको रेडियोको प्रसारण अहिले स्याटेलाइटमा पनि पुगेको छ । रेडियोबाट अहिले कायाकैरन, नेपाल दर्पण, नेपाल खबरलगायतका समाचार र सूचनामूलक कार्यक्रम देशभरिका ७४ एफएमबाट एकसाथ प्रसारण हुन्छ । कर्नरले देशभरि नै एफएमको ठूलो नेटवर्क बनाइसकेको गुरागाइर्ं बताउँछन् । 'नेपालीलाई सूचना, विचार र भावनाले जोड्ने हाम्रो अभियान अहिले आधाबाटोमा छ,' उनले भने ।

No comments: