लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १९ - माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन तथा पुनःस्थापना विशेष समितिको आइतबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । संविधानसभा भवनस्थित समितिको कार्यालयमा बिहान बसेको बैठकमा मातहतको सचिवालयले तयार पारेको समायोजन कार्ययोजनाबारे छलफल भएको समिति सदस्य एमाले नेता भीम रावलले जानकारी दिए । 'सचिवालयले तयार कार्ययोजना, विधि, प्रक्रिया र मापदण्डबारे दफावार छलफल भयो,' उनले भने । समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले दफावार छलफलका लागि थप समय आवश्यक रहेको बताए । सोमबार साँझ ५ बजे बस्ने बैठकमा थप छलफल हुने उनले जानकारी दिए । समिति प्रवक्ता मुख्य सचिव माधव घिमिरेले बैठक सकारात्मक भएको प्रतिक्रिया दिए । प्रधानमन्त्री संयोजकत्वको समितिको दुई दिनअघि बसेको बैठकले लडाकुलाई पुनः एकपटक स्वैच्छिक अवकास रोज्न समय दिंदै चैत मसान्तभित्र लडाकु शिविर खाली गर्ने निर्णय गरेको थियो । यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले चैत्र मसान्तभित्र सेना समायोजनको प्रक्रिया पुरा हुने दाबी गरेका छन् । प्रधानमन्त्रीले शान्ति प्रक्रियाको महत्त्वपूर्ण पाटोको रुपमा रहेको समायोजन प्रक्रिया चैत्र मसान्तभित्र पुरा हुनेमा शंका नगर्न आग्रह गरे । उनले भने, 'सेना समायोजनको कार्यतालकिका समयमै पुरा हुन्छ यसमा शंका गर्नुपर्दैन ।'
No comments:
Post a Comment