News

Apr 1, 2012

फास्ट्र्याक बनाउन जग्गाधनीलाई तीन करोड ८३ लाख दिइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौँडा, चैत १९- काठमाडौंबाट तराईको निजगढ जोड्ने फास्ट्र्याक सडकखण्डमा जग्गा पर्ने मकवानपुर जिल्लाका आठ गाविसका घरपरिवारलाई मुआब्जा रकम वितरण गर्न सुरु गरिएको छ। सो फास्ट्र्याकमा जग्गा पर्ने जिल्लाका १ सय १५ घरपरिवारमध्ये प्रथमचरणमा ३० घरपरिवारलाई मुआब्जा रकम वितरण गर्न सुरु गरिएको हो। प्रथमचरणमा ३० स्थानीय जग्गाधनीलाई जम्मा रु तीन करोड ८७ लाख ८३ हजार मुआब्जा हेटौँडामा वितरण गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सरकारले मकवानपुर जिल्लाका जग्गाधनीलाई मुआब्जा रकम वितरण गर्न प्रथमचरणमा कुल रु चार करोड ६० लाख रकम जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाएको थियो। आठ गाविस र गाविसको सीमाभित्र पर्ने सर्वसाधारण बासिन्दाको घरजग्गा र विद्यालय भवनसहितका लागि मुआब्जा वितरण गर्न अब कुल रु ३५ करोड ८५ लाख रकम आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सो सडकखण्डमा पर्ने जग्गाको प्रतिरोपनी रु एक लाख १० हजारदेखि रु दुई लाख ८० हजारसम्म ती जग्गाधनीलाई मुआब्जा स्वरुप रकम उपलब्ध गराएको बताइएको छ। यसैबीच काठमाडौं तराई फास्ट्र्याक सडक आयोजनाले मकवानपुर जिल्लाका आठ गाविसको निवेदनमाथि छानबिन गरी यथाशीघ्र मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयमा पठाउने कानुनी प्रक्रिया सुरु भइसकेको मकवानपुरका प्रजिअ वसन्तराज भट्टराईले बताए। मकवानपुरको उत्तरी भेग, ठिङ्गन, इपा पञ्चकन्या, सिस्तेरी, मकवानपुरगढी, छत्तिवन, आमभञ्याङ एवम् दक्षिणतर्फ फापरबारी र धियाल गाविसभित्र काठमाडौँ-तराई फास्ट्र्याक सडक निर्माण कार्य भइरहेको जिविसले जनाएको छ। सो फास्ट्र्याकमा जग्गा पर्ने केही गाविसका जग्गाधनीले मुआब्जा रकम पाउन छुटेको भनी अहिले जिल्ला प्रशासन कार्यालयमा निवेदनपत्र दर्ता गराएको बताइएको छ।

No comments: