News

Oct 10, 2009

हङकङमा न्याय खोज्दै सोनी र छोरी

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ

साइवान होस्थित इस्टर्न ल कोर्टको दसौं तल्लाबाट बाहिर निस्कँदा सोनी लिम्बु, २४, को मुहार मलिन थियो। उनी हङकङ प्रहरीद्वारा मारिएका आफ्ना श्रीमान् दिलबहादुर लिम्बुलाई न्याय दिलाउन साढे पाँच वर्षकी छोरी च्यापेर नेपालबाट यहाँ आएकी हुन्। स्थानीय कोरोनर्स कोर्टका न्यायाधीश विलियमले बुधबार लिम्बुको मुद्दा सुनुवाई स्थगन गरी 'सेक्रेकटरी फर जस्टिस' पठाउने निर्णय गरेका थिए।'यसले अन्योल थपेको छ,' क्यान्टोनिज भाषामा भएका बहस अनुवादकमार्फत् नेपालीमा सुनेकी सोनीले निर्णयपछि भनिन्, 'न्याय पाउन ढिलाइ भइरहेको छ। तर, हङकङमा कानुनी शासन भएकाले ढिलोचाँडो न्याय पाइन्छ भन्ने विश्वास छ।'लिम्बुमाथि गोली प्रहार गर्ने प्रहरी हुइका केई र उनका चार सहकर्मीको बयान सुन्दा उनी घरिघरि निन्याउरो हुन्थिन्। '(उनीहरूले) कुरा फेरेर सत्य लुकाउन खोजे पनि एकदिन वास्तविकता खुल्छ,' उनले भनिन्, 'श्रीमान्को हत्याले मेरो छाती धेरै पोलेको छ, तर न्यायका लागि नेपालीहरू कस्तरी लड्छन् भन्ने कुरा संसारलाई देखाउनु छ।' हङकङको कोरोनर्स कोर्ट मृत्युको कारण पत्ता लगाउने अदालत हो। घटनासँग सम्बन्धित व्यक्ति अपराधमा संलग्न भएको शंका लागे यसले सुनुवाई स्थगन गरी निर्णयका लागि सरकारी न्याय विभाग 'सेक्रेटरी फर जस्टिस' पठाउन सक्छ। गएको मार्च १७ मा हङकङ प्रहरीको गोलीबाट लिम्बुको मृत्यु भएको थियो। त्यसलगत्तै छोरी तान्छोमालाई बोकेर अप्रिल २ मा हङकङ विमानस्थल आइपुग्दा सोनीलाई श्रीमान् होइन सरकारी गाडीहरू पर्खिरहेका थिए। प्रहरीबारे उनको आलोचना सञ्चार माध्यममा पुग्न नपाओस् भनेर उनलाई सरकारी गाडीमा राखेर सिधै सहर पुर्‍याइयो। 'नानी सँगै छ, बाबाआमा एक्लै हुनुहुन्छ, केही समय धरानमै बस, त्यसपछि बेलायत जाउँला भन्नुभएको थियो,' श्रीमान्सँग पछिल्लोपल्ट फोनमा भएको कुराकानी सम्झँदै सोनी भन्छिन्, 'यस्तो घटना पो भयो।'उनी नेपाली समुदायको आडमा मुद्दा लडिरहेकी छन्। घरभाडा, खाना र छोरीको स्कुल खर्चका लागि भने सरकारले केही सहयोग दिन थालेको छ। 'म श्रीमान्को हत्याको निष्पक्ष छानबिन र न्यायका लागि हङकङ आएकी हुँ,' उनले भनिन्, 'तर, मैले सरकारबाट ठूलो रकम लिएर हङकङको परिचयपत्र र घर पाएकी छु भन्ने हल्ला चलेको छ। यसले मलाई एकदमै दुःखी बनाउँछ।' बाबु धर्मध्वज लिम्बु बेलायती सेनाको जागिरे हुँदा हङकङमै दिलबहादुरको जन्म भएको थियो। उनी ''लाहुरेहरूको सहर' धरानमा हुर्किएर १७ वर्ष काटेपछि जागिरको खोजीमा जन्मथलो आए। २०५९ मा हङकङबाट धरान फर्केका दिलबहादुरसँग आठ कक्षा पढेकी सोनीको विवाह भयो। पाँच महिना सँगै बसेपछि उनी फेरि हङकङ फर्किए। त्यसपछि यो जोडीको कहिल्यै भेट भएन। छोरी तान्छोमाले बाबुलाई देख्नसम्म पाइन। फोनमै मात्र गफ भए।लाहुरे श्रीमान् मुग्लानको लडाइँमा मारियो भने स्थिति अर्कै हुन्छ। सहिदको दर्जा दिएर ठूलो सम्मानका साथ राखिन्छ। परिवारले सरकारी राहत पनि पाउँछ। तर प्रहरीबाटै श्रीमान् मारिएपछि न्यायका लागि सरकारसँग मुद्दा लड्नुपर्दाको कठिनाइ खेप्दैछिन् सोनी। न्यायको लडाइँ लड्न उनलाई ससुराले ठूलो आडभरोसा दिएका थिए। छोराको अन्त्येष्टीको भिडियो हेर्दाहेर्दै हृदयघात भएर ससुराको मृत्यु भएपछि त्यो आड पनि भत्कियो। तर उनले हार मानेकी छैनन्। 'बाबाले आँटी भएर न्याय दिलाइदिनुपर्‍यो भन्नू, राम्ररी बोल्नू भन्नुहुन्थ्यो,' ससुराको भनाइ सम्झिदै सोनी भन्छिन्, 'बाबाहरूले हङकङका लागि लड्नुभयो, म न्यायका लागि लड्दै छु। गोर्खा आर्मीको बुहारी हुँ, न्याय नपाई नेपाल फर्कन्न।'हङकङस्थित अन्तर्राष्ट्रिय सञ्चार माध्यम र अल्पसंख्यक नेपाली समुदायले दिलबहादुरको मुद्दालाई ...प्रहरीद्वारा भएको हत्यामा सरकारको रवैया हेर्ने नजिर'का रूपमा लिएको छ। प्रहरीले भने यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। हुइका केईले आफ्नो बयानका क्रममा 'प्रतिरक्षा' का लागि गोली चलाएको बताएका छन्। 'दिलबहादुरलाई मैले आक्रमण गरे गोली चलाउन बाध्य हुने चेतावनी दिएको थिएँ, खोर्सानीको धुलो छर्केको थिएँ, त्यसपछि मात्र बाध्य भएर प्रतिरक्षाका लागि गोली चलाएको हुँ,' उनको बयान छ। डाक्टरको रिपोर्टमा भने खोर्सानीको धुलो प्रयोग गरेको पाइएको छैन। प्रतिरक्षाका नाममा हतियारविहीन व्यक्तिमाथि गोली चलाउनु गैरकानुनी भएको वकिलहरूले तर्क गरेका छन्। दिलबहादुर पक्षका वकिल नाइजेल केटका अनुसार सेत्रे्कटरी फर जस्टिसले हत्या आरोप लागेका प्रहरी जवानमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने निर्णय दिएपछि यो मुद्दा फेरि अदालतमा आउनेछ। यसका लागि कम्तीमा तीन साता लाग्नेछ।

No comments: