लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २३- अखबारहरूमा राहदानी हरायो भनेर दैनिक दर्जनौं सूचना प्रकाशित हुन्छन्। साँच्चै ती सबै सही हुन्छन्? 'कदापि हुँदैनन्,' परराष्ट्र मन्त्रालयका अधिकारीहरू भन्छन्, 'बढीमा १० प्रतिशत सूचनामात्र 'सही' हुन्छन्। अरू सबै नयाँ राहादानी बनाउनका लागि हराएका भन्ने हुन्।' मन्त्रालयको कन्सुलर शाखामा मात्रै दैनिक औसत दर्जन निवेदन राहदानी हराएकाले नयाँ जारी गरिदिन भनेर पर्छन्। 'यी त केही हिस्सामात्र हुन्,' अधिकारीहरू भन्छन्, 'वास्तवमा राहदानी हरायो भनेर सूचना निकाल्ने सबैले नयाँ बनाउँछन्।' पत्रपत्रिकाहरूमा औषतमा दैनिक सयभन्दा बढी राहादानी हराएको सूचना आउने गर्छ। परराष्ट्र मन्त्रालयबाहेक उनीहरूले जिल्ला प्रशासन कार्यालयहरूबाट नयाँ राहादानी बनाउँछन्। देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयबाट राहादानी जारी हुन्छ।अमेरिका, बेलायत, युरोपेली मुलुक, जापान, अष्टे्रलियालगायत आकर्षक देशमा भिसा नपाएर फर्काइएका राहादानी बहाकले नयाँ बनाउन हराएको भनेर निवेदन दिने गरेका घटना धेरै छन्। भिसा नदिए पनि राहादानीमा 'रिसिभ्ड्' भनेर छाप लगाएको हुन्छ, जसको अर्थ भिसाका लागि प्रयास गरे पनि सफल नभएको भन्ने बुझिन्छ। त्यही राहदानी प्रयोग गरेस भिसाका लागि पुनः प्रयास गर्दा नपाइने 'डर'ले भएको राहदानी रद्द गरेर नयाँ बनाउन हराएको भनेर निवेदन दिन्छन्। मन्त्रालय स्रोतका अनुसार दुई वर्ष अघि एक नेपाली विद्यार्थीले अमेरिकी भिसा नपाएपछि नयाँ राहदानीका लागि निवेदनमात्र दिएनन्, उनले नागरिकता र राहदानीको विवरणसमेत परिवर्तन गरेको पाइएको थियो। उनले तस्बिर उनी राखेर नयाँ विवरणसहितको नागरिकता र राहदानी बनाई पुनः भिसाका लागि निवेदन दिए। 'दूतावासले उनी अघिल्लो वर्ष भिसाका लागि निवेदन दिने व्यक्ति नै भएको तर राहदानीको विवरण फरक गरेर निवेदन दिएको जानकारी गरायो' नाम उल्लेख नगर्ने सर्तमा कन्सुलर शाखाका एक अधिकारी नागरिकलाई बताए। नयाँ राहदानीका लागि हरायो भन्नेर ढाँट्नेहरू उनीहरूमात्रै हुँदैनन्। ती अधिकारीका अनुसार मलेसिया र केही खाडी मुलुकका दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेशी कामदार कोटा तोकिएका छन्। कोटा नागेपछि त्यहाँका स्थानीय दलालहरूले नेपाली दलालसँगको मिलेमतोमा नेपाली राहादानीमा फोटो परिवर्तन गरी कामदार पठाउँने गरेको पनि पाइएको छ। 'यी हस्तलिखित पासपोर्टका कमजोरी हुन्' उनले थपे, 'मेसिनले पढ्ने आधुनिक राहादानीमा यो संभव हुँदैन।' राहदानी नविकरण गर्न टाढा-टाढा जिल्ला जान अप्ठेरो मान्नेहरूले पनि हरायो भनेर निवेदन दिने गरेका छन्। 'विराटनगर पुग्न अल्छी लाग्यो भने पनि सजिलाका लागि यहीँबाट राहादानी जारी गर्न सिफारिस ल्याउँछन्' ती अधिकारीले भने।
No comments:
Post a Comment