लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले जे चाहन्छन्, नेपाली कांग्रेसभित्र त्यही हुन्छ भन्ने स्थापित मान्यतालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले परिवर्तन गरिदिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले सभापति कोइरालाको महासमिति बैठक स्थगित गर्ने प्रस्तावलाई अस्वीकार गर्दै महासमिति बैठक गर्ने निर्णयगरेपछि सभापति कोइरालापक्ष पार्टीभित्र अल्पमतमा परेको छ।सभापति कोइरालाले पार्टीको महासमिति बैठक स्थगित गर्न पदाधिकारीहरूलाई पटकपटक निर्देशन दिए पनि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्धारित समय कार्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने गरी तय गरेको छ। यसअघि भदौ १३ गते बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठक वीरगन्जमा गर्ने निर्णयगरेकोमा सभापति कोइरालाको नाजुक स्वास्थ्यस्थितिलाई ख्याल गर्दै काठमाडौंमा नै गर्ने वातावरण मिलाइएको हो।‘नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा काठमाडौंमा हुने गरी निर्णयभएको छ’ -बैठकपछि पार्टीप्रवक्ता अर्जुननरसिंह केसीले भन्नुभयो।महासमिति बैठक र महाधिवेशन एकै वर्षगर्दा खर्च जुटाउन गाह्रो हुने र महाधिवेशनपट्टि ध्यान केन्द्रित गर्न गाह्रो हुने तर्क गर्दै सभापति कोइरालाले महासमिति बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो र केन्द्रीय समिति दुई भागमा बाँडिएकोमा बहुमत सदस्य महाधिवेशन गर्ने पक्षमा भएपछि कोइरालाको प्रस्ताव अस्वीकृत भएको थियो।‘सभापति कोइरालाको प्रस्ताव पार्टीकोन्द्रीय कार्यसमितिले अस्वीकार गरिदिएपछि कांग्रेस पार्टीभित्र लोकतान्त्रिक अभ्यास सबल देखिएको छ। सभापति कोइरालाको प्रस्ताव अस्वीकृत हुनु भनेको पार्टी कोइरालायुग समाप्त भएको संकेत हो’ -नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले टिप्पणी गरे। बैठकले महासमितिमा विधान संशोधनलगायत राजनीतिक प्रस्तावलाई पेस गर्ने तय गरेको छ। बैठकमा संविधानसभा निर्वाचनमा पार्टी आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेता तथा कार्यकर्तालाई गरिने कारबाहीका बारेमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन। आइतबार बस्ने बैठकले अन्य सांगठनिक विषयमा छलफल गर्ने र निर्णयहुने प्रवक्ता केसीले जानकारी दिनुभयो।
No comments:
Post a Comment