News

Oct 4, 2009

एसिया प्रशान्त क्षेत्रका वायुसेवा कम्पनीले ठूला परिमाणमा जहाज खरिद गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फ्रान्स, असोज १८ एसिया प्रशान्त क्षेत्रका वायुसेवा कम्पनीले आगामी दुई दसकभित्र बृहत परिमाणमा ठूला आकारका जहाज खरिद गर्ने भएका छन्। संसारको सबैभन्दा ठूलो जहाज उत्पादक कम्पनी युरोपको एयरबसले जनाएअनुसार ४ सय सिट क्षमताभन्दा माथिका जहाज वायुसेवा कम्पनीले खरिद गर्ने भएका हुन्। माग भएको जहाज संख्या १ हजार ७ सयभन्दा बढी छ। २० वर्षपछि विश्वभर सञ्चालनमा रहने ठूला जहाजमध्ये आधाभन्दा बढी संख्या एसिया प्रशान्त क्षेत्रमा हुने एयरबसले जनाएको छ। उसका अनुसार करिब २ हजारभन्दा बढी ती जहाज मूल्य ५ खर्ब ७१ अर्ब अमेरिकी डलरबराबर हुनेछ। एयरबसले आफ्ना उत्पादनमध्ये सबैभन्दा ठूलो डबल डेकर जहाज ए३८० को बिक्री बढी हुने विश्वास लिएको छ। विश्व बजार प्रक्षेपणले पनि विभिन्न आकारका ठूला जहाजबाट एयर ट्राफिक चाप कम गर्न, हवाई रुट वृद्धि गर्न र एउटा जहाजबाट धेरै काम गर्न सकिने देखाएको छ। 'बढो एयर ट्राफिक चाप कम गर्न, उडान संख्या वृद्धि गर्न, लागत घटाउन, वातावरण प्रदूषण कम गर्न र विमानस्थलमा भीडभाड घटाउनेलगायत फाइदा लिनका लागि वायुसेवा कम्पनीलाई ठूला जहाज लिन प्रोत्साहन मिलेको छ,' एयरबसका एक अधिकाले भने, 'विगत १० वर्षमा जहाजको आकार तीन प्रतिशतले बढेको छ। अबको २० वर्षमा जहाजको आकार आजको भन्दा २६ प्रतिशत बढी ठूला हुने अनुमान हाम्रो छ।' आगामी बीस वर्षमा जहाज उत्पादक कम्पनीले वायुसेवा कम्पनीलाई २४ हजार ९७ नयाँ जहाज आपूर्ति गर्ने एयरबसले जनाएको छ। ती जहाज १ सय सिट क्षमताभन्दा माथिका हुन्। तिनको मूल्य २९ खर्ब डलरबराबर रहेको छ। त्यही अवधिमा एयरबसले थप ६ हजार ७८ क्षेत्रीय जेट आपूर्ति गर्नेछ। 'हवाई यातायात एउटा बढोत्त भइरहेको उद्योग हो र यो विश्व अर्थतन्त्रका लागि आवश्यक तत्व पनि हो,' एयरबसका प्रमुख सञ्चालन अधिकृत जोन लिहीले भने, 'प्रविधि र सिर्जना वातावरण मैत्री हवाई उद्योगका प्रमुख तत्व हुन् र एयरबस यी दुवैमा अगाडि छ।' प्रतिष्पर्धी अमेरिकाको जहाज उत्पादक बोइङले एक महिनाअघि गरेको प्रक्षेपणअनुसार २० वर्षमा वायुसेवा कम्पनीले २६ हजार ९ सय जहाज खरिद गर्नेछन्। यसमा क्षेत्रीय जेट संख्या राखिएको छैन। यो संख्या एयरबसको प्रक्षेपणभन्दा केही बढी हो। बढीरहेको अर्थतन्त्र, वायुसेवा सञ्जाल वृद्धि, कम लागतका जहाज संख्या विस्तार, ठूला सहरको संख्या बढै जानु, यात्रु बढै जानु र पुराना जहाज परिवर्तन गर्दै लानु जस्ता कारण नयाँ जहाज खरिद अर्डर बढेको एयरबसले जनाएको छ। यात्रुवाहक पुराना करिब १० हजार जहाज परिवर्तन गर्दा कम्तीमा १ सय सिट क्षमताका जहाज संख्या दोब्बर हुनेछ। हाल यस्ता जहाज संसारमा १४ हजार छन्। एयरबसले यात्रुवाहक जहाजको कूल मागको ३१ प्रतिशत एसिया प्रशान्त क्षेत्रमा हुने अनुमान गरेको छ। चीन र भारतका वायुसेवाका हिस्सा यसमा बढी हुनेछ। बोइङले पनि जहाज अर्डर मागमा एसिया प्रशान्त क्षेत्रको प्रमुख हिस्सा रहने बताएको छ। एयरबसका अनुसार सन् २००९ मा यात्रुवाहक आम्दानी प्रतिकिलोमिटर दुई प्रतिशतले घट्ने, अर्को वर्ष ४ दशमलव ६ प्रतिशतले बढ्ने, त्यसपछि प्रत्येक वर्ष ४ दशमलव ७ प्रतिशतले बढै गएर आगामी १५ वर्षमा दोब्बर हुनेछ।

No comments: