लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हरेक वर्ष बडादशैंको अन्त्य हुने दिन राष्ट्रप्रमुखद्वारा पूजाअर्चना हुने भक्तपुरको गछेँस्थित ऐतिहासिक नवदुर्गा मन्दिरमा शनिबार राष्ट्रपति डा. रामवरण यादवले नवदुर्गादेवीको पूजाआजा गरी प्रसाद ग्रहण गर्नुभयो। राष्ट्रपति निर्वाचित भएपछि दोस्रोपटक कोजाग्रत पूणिर्माको अवसरमा कमलविनायकनजिकको दुर्गामन्दिर पुग्नुभएका यादवले १० मिनेटसम्म नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरी मन्दिरका पूजारी जुलाल कर्माचार्यबाट टीका, फूलपाती र प्रसाद ग्रहण गर्नुभएको थियो।राष्ट्रपतिको सवारीअवधिभर अरनिको राजमार्ग खाली गरी सुरक्षानिकायले कडा सुरक्षा दिएको भए पनि नवदुर्गा मन्दिर पुग्नासाथ एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले राष्ट्रपतिलाई कालो झन्डा देखाएका थिए।‘नयाँ राजा चाहिँदैन’ भन्ने नारा लगाउँदै मन्दिरछेउमा कालो झन्डा देखाए पनि अप्रिय घटना नभएकाले कसैलाई पक्राउ नगरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। राष्ट्रपति यादव शनिबार नवदुर्गा मन्दिरमा अपराहन ३:२१ मा पुगी ३:३३ बजे फिर्ता हुनुभएको थियो।
No comments:
Post a Comment