News

May 3, 2011

यसरी मारिए ओसामा विन लादेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन, वैशाख २० - ओसामा विन लादेनविरुद्ध कारबाही चिसिँदै गएको बेला गत अगस्टमा अमेरिकी गुप्तचरहरूले ठूलो उपलब्धि हासिल गरे । उनीहरूले वर्षौंदेखि खोजिरहेको लादेनको विश्वासिलो कुरिअर पाकिस्तानी राजधानी इस्लामावाददेखि ३५ माइल टाढाकम्पाउन्डमा फेला पारेका थिए । अमेरिकी एउटा प्रतिआतंकवाद कारबाही केन्द्रनजिकैको यो संरचना यति सुरक्षित र ठूलो थियो कि यसलाई अमेरिकी अधिकारीहरूले कुरिअर मात्र भन्दा पनि कसैलाई लुकाउन महत्त्वपूर्ण रहेको अनुमान गरे । त्यसपछि आठ महिनाको अथक गुप्तचरी कार्यले आइतबार विन लादेन मारिएपछि एउटा विस्तृत र लगभग आशा मारिसकेको एउटा इतिहास अन्त्य भएको छ ।
झन्डै एक दशकसम्म पाकिस्तान र अफगानिस्तानमा अमेरिकी सेना र गुप्तचर बलले विन लादेनको डरलाग्दो छाया पछ्याइरह्यो । पूर्वी अफगानिस्तानको तोराबोरा पहाडमा नजिकबाट एकपटक भिडन्तसमेत भएको थियो, तर त्यतिखेर अमेरिकी सेना सफल हुन सकेनन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले त्यतिखेर वास्तविक सफलता पायो, जतिखेर विन लादेनको निकै विश्वासिलो कुरियरको नाम र ठेगाना पत्ता लगाए । यी अल कायदा प्रमुख बाहिरी विश्वसँग सम्पर्क कायम राख्न यसैमा निर्भर देखिएका थिए । क्युबाको ग्वान्तानामो खाडीस्थित अमेरिकाले युद्धबन्दी राखेको कारागारका बन्दीले कुरियरको छद्म नाम सोधपुछका क्रममा खुलासा गरे । र, त्यहाँ सेप्टेम्बर ११ आक्रमण योजना स्वीकार गरेका खालिद सेख मोहम्मदको संरक्षक रहेको बताए । चार वर्षअघि नै कुरियरको वास्तविक नाम थाहा पाएको अमेरिकी गुप्तचर अधिकारीको भनाइ छ । तर यो कहाँ छ ? यो रहेको क्षेत्रबारे जानकारी लिन थप २ वर्ष र इस्लामावाददेखि १ घन्टा गाडीमा हिँडेपछि पुगिने उक्त अब्बोतावाद कम्पाउन्ड भेटाउन गत अगस्टसम्म पर्खिनुपर्‍यो ।
उनी को हुन सक्छन् ? भनेर केही साता स्याटलाइट फोटो र गुप्तचरी सूचना अमेरिकी गुप्चरसंस्था -सीआईए) का एजेन्टहरूले अध्ययन गरे । सेप्टेम्बरदेखि सीआईएले त्यहाँ विन लादेन आफैं लुकेको हुन सक्ने 'बलियो सम्भावना' सुनिश्चित गरेको एक वरिष्ठ अधिकारीले बताए ।
यो पहाडी क्षेत्रमा एउटा सानो गुफाजस्तो थियो, जहाँ विन लादेन लुकेको शंका धेरैले गर्थे । साथै यो डाँडामा बनाइएको एउटा निवासलाई १२ फिट अग्लो पक्की पर्खालले घेरिएको र काँडेतार लगाइएको थियो । यसको मूल्यांकन करिब १० लाख अमेरिकी डलरको गरिएको छ । टेलिफोन र इन्टरनेट सुविधा छैन । यहाँ बस्नेहरू सुरक्षाप्रति यति सचेत थिए, अन्य छिमेकी जस्तो सडकमा फोहोर फल्दैनथे, यसलाई जलाइदिन्थे । यो कम्पाउन्ड विन लादेन लुकाउने उद्देश्यले २००५ मा निर्माण गरिएको अमेरिकी अधिकारीको अनुमान छ ।
विन लादेन र उनका परिवार लुकेको प्रति अमेरिकी गुप्तचर निकै विश्वस्त हुन र अमेरिकी राष्ट्रपतिले अल कायदा नेताविरुद्ध मिसन सुरु गर्न सूचना पर्याप्त भएको निश्चयपछि पनि थप केही महिना गुप्तचरी गरिरहे ।
पछिल्लो ६ सातासम्म ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको ५ वटा बैठक गरेका थिए । गत शुक्रबार ८.२० मा ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकार थोमस डोनिलन, प्रतिआतंकवाद सल्लाहकार जोहन ओ ब्रेनमसहित बरिष्ठ सल्लाहकारसँग ह्वाइट हाउसको कूटनीतिक कक्षमा छलफल गरेका थिए । त्यसपछि उनी आँधी प्रभावित अलबामा क्षेत्रमा गए । तर उनले गुप्तचर कारबाहीका लागि अन्तिम योजना स्वीकृत गनुपथ्र्यो ।
कारबाहीको औपचारिक निर्देशनमा हस्ताक्षरपछि पनि ओबामाले पाकिस्तानीलाई जानकारी गराएनन् । 'त्यहाँ कारबाहीका लागि हामीले अन्य मुलुकसँग सेयर गरेनौं,' एक वरिष्ठ प्रशासकीय अधिकारीले भने । यो कुनै अचम्म भने होइन । लादेन आफ्नो मुलुकमा नभएको पाकिस्तानले बताए पनि अमेरिकाले कहिल्यै विश्वास गरेन । बरु पछिल्लो वर्ष लादेन खोज्न वा मार्न अमेरिकाले पाकिस्तानलाई दबाब दिइरहेको विकिलिक्समा सार्वजनिक अमेरिकी कूटनीतिक दस्तावेजमा भनिएको छ ।
अल कायदा नेता कहाँ छन् ? सेप्टेम्बर २००९ मा इस्लामावादमा अमेरिकी कंग्रेस टोलीले सोधेको प्रश्नमा पाकिस्तानी आन्तरिक मन्त्री रेहमान मलिकले 'कुनै संकेत नभएको' जवाफ दिएका थिए । लादेनले उनका परिवार इरान पठाएकोले आफैं पनि त्यतै लागेको हुन सक्ने मलिकको भनाइ थियो । त्यहाँ नभए उनी साउदी अरब, यमनमा लुकेको वा मृत्यु भइसकेको हुन सक्ने उनले जवाफ दिएको पनि अमेरिकी दस्तावेजमा उल्लेख छ ।
विशेषगरी सीआईएसम्बद्ध रेमन्ड डेभिसले लाहोरको गत जनवारीमा व्यस्त सडकमा दुईजनालाई गोली प्रहार गरेपछि पछिल्लो महिना आपसी शंका बढेको थियो । हेलिकोप्टरबाट अमेरिकी सेना र गुप्तचर टोलीले कारबाही गर्दा केही बेर भिडन्त भएको बाहेक अमेरिकी अधिकारीले पनि थप जानकारी दिएको छैन । घटनामा लादेन र अन्य तीन व्यक्तिको मृत्यु भएको थियो । - द न्युयोर्क टाइम्स

No comments: