News

Feb 11, 2010

रोनाल्डिन्होले अफ्रिकाको विश्व फुटबल खेल्न नपाउने सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साओ पाउलो, माघ २८,विश्वकप २०१० अघिको मैत्रीपूर्ण खेलका लागि घोषित ब्राजिली टोलीमा नपरेपछि रोनाल्डिन्होले दक्षिण अफ्रिकामा हुने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न नपाउने सम्भावना बढेको छ। ब्राजिलले विश्वकपअघि मार्च २ मा लन्डनस्थित आर्सेनलको इमिरेट्स रंगशालामा खेल्ने अन्तिम मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा रोनाल्डिन्होलाई समावेश गरिएको छैन। एसी मिलानका २९ वर्षीय स्टारले २००९ को सुरुवातदेखि नै ब्राजिली राष्ट्रिय टोलीका लागि खेलेका छैनन्, तर पछिल्लो समयमा आफ्नो फर्ममा सुधार गरेर उनले आफूलाई ब्राजिली टोलीमा फर्काउन दबाव भने दिइरहेका छन्।बार्सिलोनाका पूर्वफरवार्डलाई टोलीमा फर्काउन स्थानीय संचारमाध्यम र समर्थकले समेत दबाव दिनाका बावजुद प्रशिक्षक डुंगाले भने त्यसलाई लत्याएका छन्। १९९४ को विश्वकप विजेता ब्राजिली टोलीका कप्तान डुंगाले रोनाल्डिन्होलाई बेवास्था गर्दै लियोनका माइकल बास्टोस, एएस रोमाका हुँवा र डोनी, फ्लेमिङगोका क्लेबर्सन र क्रुजेइरोका गिल्बर्टोमा विश्वास राखेका छन्। लोनमा सान्तोष पुगेका म्यानचेस्टर सिटीका पूर्वफरवार्ड रोबिन्हो लिभरपुलका मिडफिल्डर लुकाससँगै टोलीमा समावेश गरिएका छन्। तर म्यानचेस्टर युनाइटेडका एन्डरसनका लागि भने टिममा स्थान राखिएको छैन। ब्राजिलले २००२ मा विश्वकप जित्दा रोनाल्डिन्हो टिमका प्रमुख सदस्य थिए। इङल्यान्डमाथि क्वार्टरफाइनलमा विजय हासिल गर्ने क्रममा उनले दोस्रो हाफमा विपक्षी गोलकिपर डेविड सिम्यानलाई झुक्याउँदै लामो दूरीबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। रोनाल्डिन्होलाई टिममा फर्काउनका लागि ब्राजिली फुटबलका महान हस्ती पेलेले समेत प्रशिक्षकलाई सुझाव दिएका थिए। रोनाल्डिन्होले देशका लागि ८७ खेल खेल्दै ३२ गोल गरेका छन्। २००४ र २००५ मा फिफा विश्व वर्ष खेलाडीको पुरस्कार जितेका रोनाल्डिन्हो एकपटक युरोपेली वर्ष खेलाडी पनि भएका थिए।

No comments: