लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान लेख्ने मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिका सदस्यहरुले जेठ १४ गते जारी हुने गरी संविधान लेख्न अब संभव नभएको बताएका छन्।संविधानसभाको कार्यतालिका अनुसार गत शुक्रबारदेखि संविधानको पहिलो मस्यौदा लेख्न शुरु गरिनुपर्थ्यो।तर लेख्नका लागि आवश्यक एघार मध्ये दश प्रतिवेदनहरु नै संवैधानिक समितिमा पुग्न सकेका छैनन्।प्राकृतिक श्रोत, आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समितिको बाहेक अरु कुनै प्रतिवेदन समितिमा पुगेकै छैन। समितिका सदस्यहरु भन्छन्, फेरी कार्यतालिका संशोधन नगरी सुख छैन र त्यसो गर्ने भनेको जेठ १४ गते संविधान जारी हुन सक्दैन भन्ने नै हो। समितिका एक सदस्य तथा एमाले नेता अग्नी खरेलले भने, “अब कार्यतालिका फेरि परिवर्तन गर्न आवश्यक भएको छ।”संविधानसभाको कार्यतालिका नवौंपटक संशोधन भइसकेको छ।समितिकै अर्का सदस्य माओवादी नेता खिमलाल देवकोटा पनि अहिले भइरहेको ढिलाइले तोकिएको समयमा संविधान जारी गर्ने प्रक्रियालाई असर पार्नेमा सहमत छन्। दशवटा प्रतिवेदनका धेरै विषय मुख्य दलका शीर्ष नेता बसेर तय गर्नुपर्नेछ। त्यस कारणले पनि संवैधानिक समितिमा सबै प्रतिवेदन तत्काल पुग्न सक्ने संभावना देखिन्न। संविधानसभामा रहेका २५ दलका प्रतिनिधि रहेको संवैधानिक समितिका कतिपय सदस्यहरुबीच अहिले एउटा अनौपचारिक सहमति बनेको छ। त्यो सहमति अनुसार तिनले संविधानसभा अध्यक्ष सुवास नेम्वाङसामु अब समयमै संविधान लेख्न संभव नभएको प्रतिवेदन दिनेछन्। त्यसैका आधारमा अध्यक्षले नेताहरुको बैठक डाक्ने र नेताहरुले संविधान संशोधन गरी संविधान जारी गर्ने दिन जेठ १४ भन्दा पछि सार्ने आंकलन उनीहरुले गरेका छन्।
No comments:
Post a Comment