News

Jul 7, 2011

त्रिशुलीमा हराएका छ जनाको अबस्था अझै अज्ञात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धादिङ, अषाढ २३ - बस दुर्घटनामा परि मंगलबार बिहानदेखि त्रिशुली नदीमा हराएका छ जनाको बारेमा अझै जानकारी पाउन सकेको छैन । खोजीको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा राजमार्ग स्वयंसेवक उद्धारकहरु सक्रिय छन् । विहीवार पनि दिनभरी नेपाल प्रहरी र स्थानीयबासीको प्रयासमा दुर्घटना स्थलभन्दा ४ किलोमिटर तलसम्म डुंगाको सहायताले हराइरहेको बस तथा मानिसको खोजी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रमुख प्रेमसागर केसीले बताए । दुर्घटनामा परी हराइरहेकाहरुमा कटारी ४ उदयपुरका अमर पाख्रिन, सर्लाही हरिवनका पुष्प प्रधान, उदयपुर कटारीकी आसा नायक, राजन राई, सिन्धुलीकी मनमाया पराजुली र सिरहाका श्रृजना गौतम रहेका छन् । उनीहरुका आफन्त तथा घाइतेहरुले दिएको जानकारीको आधारमा उनीहरु नदीमा बेपत्ता भएको हुनसक्ने प्रहरीले बताएको छ । नदीमा हराइरहेकाहरुलाई जीवितै भेटिन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त प्रमुख प्रेमसागर केसी बताए । उनले नदीमा पानीको वहाव बढी भएको र हराइरहेको बस पनि देखा नपरेको कारण हराइरहेका यात्रुहरु कुन अवस्थामा छन् भन्ने थाहा नभएको बताए । उदयपुरको कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । कटारीबाट काठमाडौं जाँदै गरेको ना.४.ख ४४२९ नम्वरको यात्रुबहाक बस मंगलबार विहान ३:४५ बजेतिर पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट – १ मलेखु नजिकै रातमाटे भन्ने ठाउँबाट त्रिशुलीमा खसेको थियो । दुर्घटनामा परेकाहरुलाई उद्दार गरिसकेपछि बस पनि खोलाले बगाएको थियो । दुर्घटनामा परी इटहरीकी अन्दाजी बर्ष ४२ की लक्ष्मी डोटेलको उपचारका क्रममा मृत्यु भएको थियो । चालक निदाएको कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

No comments: