News

Feb 5, 2012

मन्त्री लेखराज भट्ट आफैले बन्दको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २२ - बन्द हडताल लगायतका आन्दोलनका कार्यक्रम गरेका समूहसँग वार्ता गरेर जनजीवन सहज बनाउनु पर्नेमा सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैले बन्दको घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरको साक्षात्कारमा सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका मन्त्री भट्टले राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि प्रकट गर्दै त्यसका विरुद्ध आगामी माघ २७ गते सुदूरपश्चिम क्षेत्र बन्दको आह्वान गरेका हुन् । साक्षात्कारमा उनले आयोगले बुझाएको प्रतिवेदनमा खप्तड कर्णाली प्रदेश नामकरण गर्दै सुर्खेतलाई राजधानी सिफारिस गरेकोमा त्यसले सुदूरपश्चिमको भावना समेट्न नसक्ने भन्दै त्यसले सेती महाकालीको अस्तित्व र अखण्डता समाप्त पारेर गरिने राज्यपुनर्संरचना आफूहरूलाई कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे । मन्त्री भट्टले उनले सेती महाकाली र भेरी कर्णालीलाई समेटेर एक प्रदेश बनाउने हो भने त्यसको नाम खस वा खसान प्रदेश हुनु पर्नेमा जोड दिए ।
उनले साक्षात्कारमा आयोगको प्रतिवेदनले सेती महाकालीको पहिचान, इतिहास र संस्कृतिलाई बेवास्ता गरेर बनाएको दुईवटै प्रतिवेदन माघ २३ गते जलाउने समेत जानकारी दिए । मोर्चाको तर्फबाट घोषित आन्दोलनको कार्यक्रममा माघ २४ गते प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री, सभामुख र संवैधानिक समितिका सभापतिलाई ज्ञापन पत्र बुझाउने, केन्द्रमा सभामुख, प्रधानमन्त्री र शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउने र माघ २६ गते दिउँसो १ बजेदेखि एक घण्टा चक्का जाम र मसाल जुलुस गर्ने लगायतका रहेका छन् । उनले जातीय आधारमा राज्यको पुनर्संरचना गर्ने हो भने नेपालमा विशिष्ट इतिहास, संस्कृति र पहिचना बोकेको खस जातिको पनि छुट्टै राज्य हुनु पर्ने माग गर्दै सुदूरपश्चिमका खसहरू शासक नभई उत्पीडित रहेको दाबी गरे । मन्त्री भट्टले खस जातीलाई अन्य जातिमा राखिएको प्रति असन्तुष्टि प्रकट गर्दै भने, खस जातिलाई अन्यमा राख्ने धृष्टता फेरि पनि भए म लड्छु । मेरा लागि मन्त्री पद ठूलो होइन, सुदूरपश्चिमेलीको अधिकारका लागी म राजीनामा दिएर पनि लडन तयार छु ।

No comments: