News

Feb 6, 2012

लडाकु सरह सुविधा माग गर्दै वाईसीएल आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टीकापुर, माघ २३ - वाईसीएलले जनमुक्ति सेना सरह सुविधा र सेनामा समायोजनको माग गर्दै सुदूरपश्चिमका माओवादी पार्टी कार्यालयहरुमा तालाबन्दी गरेको छ । जनयुद्धकालमा जनमुक्ति सेना सरह भूमिका निर्वाह गरेकाले सो सरह सुविधा पाउनुपर्ने माग वाईसीएलले गरेको छ । उनीहरुले सुदूरपश्चिमका नौ वटै जिल्ला पार्टी कार्यालयहरुमा अनिश्चितकालका लागि सोमबार तालाबन्दी गरेका हुन् । वाईसीएललाई जनमुक्ति सेनाको प्रमाण पत्र तत्काल उपलब्ध गराउनुपर्ने, जनमुक्ति सेना सरह हैसियत र सुविधा दिनुपर्ने, जनमुक्ति सेना र वाईसीएलको संगठनलाई समेत समान हैसियत दिनुपर्ने, घाइतेहरुलाई सम्मानजनक व्यवस्थापन गर्नुपर्ने र नेपाली सेनामा जान चाहनेलाई पनि सेनामा समायोजन गर्नुपर्ने माग गरेका छन् ।
माओवादी पार्टी र जनमुक्ति सेनाको गाडी, कम्प्युटर लगायतका साधन स्रोत र जनमुक्ति सेनाको राशन समेत नियन्त्रणमा लिन थालेको वाईसीएलका थारुवान राज्य समितिका सचिव ललित थापाले बताए । तालाबन्दी अघि धनगढीमा वाईसीएलको थारुवान र सेतीमहाकाली राज्य समितिले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका केन्द्रीय सदस्यहरुलाई समेत सुदूरपश्चिम प्रवेश निषेध गरिएको बताए । उनले सुदूरपश्चिममा रहेका पार्टीका केन्द्रीय सदस्यहरुलाई नियन्त्रणमा लिएर थुन्न थालेको जानकारी दिए ।
कन्चनपुरको महेन्द्रनगरबाट स्थायी समिति लिलामणि पोखरेल चढेको कार र केन्द्रीय सदस्य हरिभक्त कँडेललाई पनि नियन्त्रणमा लिएको वाईसीएल कार्यकर्ता राजकिरणले भने-'सातौ डिभिजनका कमाण्डरका गाडी पनि नियन्त्रणमा दिन थालेका छौं ।' वाईसीएल नियन्त्रणमा रहेका पोखरेल मोटरसाइकल चढेर धनगढी एयरपोर्ट गएका जनाइएको छ ।

No comments: