लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, माघ २४- लडाकुसरह सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका वाइसियल कार्यकर्तासँग वार्ता गर्न अर्थ मन्त्री तथा माओवादी सेनाको डेपुटी कमाण्डर वर्षमान पुन र डेपुटी कमाण्डर जनार्दन शर्मा कैलालीको मसुरिया पुगेका छन। मसुरियास्थित माओवादी शिविरभित्र वार्ता गर्ने तयारी भएको छ। आन्दोलनमा उत्रेका वाइसियलले कैलालीको मसुरियामा मात्र वार्ता गर्ने अडान लिएकाले माओवादी नेताको टोली मसुरिया पुगेको हो। संविधान सभा निर्वाचनका लागि शिविरबाट वाइसिएल बनाएर पठाएको भन्दै जनमुक्ति सेना सरह सुविधा पाउनुपर्छ भनेर वाइसियल सोमबारदेखि आन्दोलनमा उत्रेका थिए। सुदूरपश्चिमका सबै जिल्लाका माओवादी कार्यालयमा तालाबन्दी गरेका थिए भने सातौं डिभिजन तालबन्द जाने सडक अवरुद्ध पारेका थिए। तार चुँडालेर बिजुली आपूर्ति पनि बन्द पारेका थिए। सुदूरपश्चिममा आएको माओवादीका केन्द्रीय नेताका गाडी नियन्त्रणमा लिएका थिए।
उनीहरुले पार्टीका सबै कार्यक्रम बहिष्कार गर्ने, पार्टीका केन्द्रीय नेतालाई सुदूरपश्चिममा आउन रोक लगाउने र पार्टीका नेता र जनमुक्ति सेनाका गाडी, स्रोतसाधन नियान्त्रणमा लिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। माग पूरा नभएमा फागुन १ गतेदेखि सुदूरपश्चिम बन्द आह्वान गरिने बताएका थिए। '०६३ सालमा संविधान सभाको निर्वाचनका लागि तालबन्दबाट २ बिग्रेड सेनालाई संविधान सभाको निर्वाचन सफल पार्न भनेर माओवादीको नेतृत्व र कमाण्डरले त्यतिबेला बाहिर पठाएको हो'- थारुवान राज्य समिति वाइसियलका सचिव तथा वाइसियलका केन्द्रीय सदस्य ललित थापाले बताएका छन। तालबन्दबाट ३ सय ६३ लडाकु बाहिर निस्केर वाइसियल बनेको बताएका छन्। वाइसिएलहरुलाई जनमुक्ति सेनाको अधिकारीका प्रमाण पत्र तत्काल उपलब्ध गराउनुपर्ने, जनमुक्ति सेनासरह हैसियत र सुविधा दिनुपर्ने, जनमुक्ति सेना र वाइसिएलको सङ्गठनलाई समेत समान हैसियत दिनुपर्ने, घाइते वाइसियलहरुलाई सम्मानजनक व्यवस्थापन गर्नुपर्ने र नेपाल सेनामा जान चाहने वाइसिएललाई पनि सेनामा समायोजन गर्नुपर्नेलगायतको माग राखेको छ ।
No comments:
Post a Comment