News

Feb 4, 2010

राष्ट्रपति डा.रामवरण तीनदिने भारत भ्रमणमा निस्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० माघ,राष्ट्रपति डा. रामवरण यादव २७ सदस्यीय टोलीको नेतृत्व गर्दै ३ फागुनमा तीनदिने भारत भ्रमणमा निस्कने भएका छन् । राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमणटोलीमा सहभागी हुने नाम तय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शंकर पोखरेलले राष्ट्रपतिको भारत भ्रमणमा २७ जनाको टोली पठाउने निर्णय भएको जानकारी दिए । टोलीमा पर्यटनमन्त्री शरदसिंह भण्डारी, राष्ट्रपतिपुत्र डा. चन्द्रमोहन यादव, सभासद् किरण यादव, राष्ट्रपति कार्यालय सचिव वामनप्रसाद न्यौपाने, प्रेस सल्लाहकार राजेन्द्र दाहाल, राजनीतिक सल्लाहकार हरि शर्मा, स्वकीय सचिव ललित बस्नेत, परराष्ट्र मन्त्रालयका सहसचिव हरिकुमार श्रेष्ठ सहभागी हुनेछन् । राष्ट्रपतिका सुरक्षा सहयोगी सुदर्शन खड्का र सन्तोष थापा भ्रमणमा सहभागी हुने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. दुर्गेशमान सिंह र नियोगप्रमुख खुसनारायण श्रेष्ठको नाम पनि भ्रमण टोलीमा राखिएको छ । सिंह र श्रेष्ठ नयाँदिल्लीमै छन् । पत्रकार युवराज घिमिरे, गोपाल थपलिया, कनकमणि दीक्षित र चन्द्रकिशोर झाको नाम मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । सरकारी सञ्चारमाध्यमबाट भ्रमणमा जाने पत्रकारको नाम भने उल्लेख नभएको विनाविभागीय मन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भ्रमणको एजेन्डा भने तय गरिनसकेको मन्त्री कर्णले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले गणतन्त्र घोषणा भएको दिन १५ जेठ राष्ट्रिय दिवसका रूपमा मनाउने पनि निर्णय गरेको छ । त्यस्तै, बर्डफ्लु नियन्त्रणका लागि कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमार सिंह यादवको संयोजकत्वमा एक समिति गठन गर्ने र कार्यविधि तयार गरी कार्यान्वयन थाल्ने पनि बैठकमा निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए । बैठकले सैनिक संग्रहालय कोष कार्यविधि- ०६६ र सहुलियत दरका पसल सञ्चालनसम्बन्धी नियमावली पारित गरी विधायन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।

No comments: