लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागी हुने विषयमा आन्तरिक विवाद झेल्दै आएको सदभावना पार्टीमा फेरि फुट देखिएको छ । सदभावना संस्थापन पक्षले पार्टी महासचिव अनिलकुमार झालाई निलम्बन गरेपछि विवाद सतहमा आएको हो। महासचिव झाले ४० प्रतिशत सभासदसहित पार्टी फुटाएर सरकारमा जाने तयारी गरेकाले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेता खोभारी रायले जानकारी दिए । झालाई पार्टीबाट निलम्बन गर्नुअघि आइतबार राति अबेरसम्म पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो । संविधानसभामा सदभावनाका ९ सभासद् छन् । झा रौतहटबाट समानुपातिकतर्फबाट चुनिएका थिए । निलम्बित नेता झाले आफूले पार्टीविरोधी गतिविधि नगरेको दाबी गर्दै रातारात गरिएको निर्णयबाट आफू आश्चार्यचकित भएको प्रतिक्रिया दिएका छन् । लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सदभावनासहित तमलोपा र फोरम लोकतान्त्रिकले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि झा रुष्ट थिए । उनले गठबन्धन सरकारमा बसेर मधेस मुद्दा कार्यान्वयमा लाग्नुपर्ने वकालत गर्दै आएका थिए । 'पार्टीमा त फरक मत राख्न पाउने अधिकार नै हुन्छ नि, मैले पनि सरकारमा जानुपर्छ भने होला, अरुले जानुहुँदैन भने होला,' उनले भने ।
No comments:
Post a Comment