लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २३- बेलायती सेनाध्यक्ष डेभिड जुलियन रिचार्डस् औपचारिक भ्रमणको सिलसिलामा शनिबार काठमाडौं आएका छन्। रिचार्डस्लाई नेपाली सेनाका बलाध्यक्ष रथी तोरणजंगबहादुर सिंहले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। पूर्व निर्धारित कार्यक्रममा रिचार्डस् लन्डन, बहराइन, ढाका, हुँदै बिहीबार राति १०:३० बजे काठमाडौं ओर्लिने तालिका थियो। रिचार्डस्लाई स्वागत गर्न पौने ११ बजे नेपाली सेनाका सेकेण्डम्यान बलाध्यक्ष रथी तोरणजंगबहादुर सिंह अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।घरबाट हिँड्ने बेलामा रथी सिंहलाई प्लेन 'डिले' भएको खबर आएको थियो। सैनिक पोशाकसमेत लगाइसकेकोले सिंह विमानस्थल पुगे। रिचार्डस्को जहाज स्थगित भएको खबर नआउञ्जेल राति १२ : ३० बजेसम्म सिंहसहितको सैनिक टोली विमानस्थलमै कुरेका थिए। ड्राइगन एयरमार्फत् नेपाल आउने भनिएका बेलायती सेनाध्यक्ष डेभिड जुलियन रिचार्डस्को यात्रा अकास्मात अर्कैतिर मोडियो। शुक्रबार विहान अर्कै खबर आयो, बेलायती सेनाध्यक्ष हङकङ पुगेको। ड्रयागन एयरको प्राविधिक खराबी भएकोले बिहीबार राति नै त्यही जहाजबाट हङकङ गएको हुनसक्ने सैनिक स्रोतको जिकिर छ।उनकी धर्मपत्नी क्यारोलिन भने थाइ एयरवेजबाट बिहीबार अपरान्ह ४ : ३० काठमाडौं आइसकेकी थिइन्। रिचार्डस् दम्पत्ति बेलायतबाट छुट्टाछुट्टै जहाजमा उडेका थिए। हङकङबाट शुक्रबार आउने व्यवस्था हुन नसकेपछि उनी शनिबार दिउसो थाइएयरबाट काठमाडौं आएका हुन्।रिचार्डस्को पूर्वनिर्धारित कार्यक्रममा दुई दिन ढिला भएपछि उनको छ दिने नेपाल भ्रमणमा हेरफेर हुने भएको छ। उनी आजै पोखरास्थित बृटिश गोर्खा क्याम्पतर्फ प्रस्थान गरी विभिन्न विभिन्न कार्यक्रममा सरिक हुनेछन्। उनी भोलि साँझ काठमाण्डौं फिर्ता हुने कार्यक्रम छ। उनको नेपालमा राष्ट्रपछि रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, बृटिश गोरखाका विभिन्न कार्यक्रममा सहभागी हुने काठमाडौं, पोखरा र धरान तथा समय भ्याएमा सगरमाथा क्षेत्रतिर माउण्टेन फ्लाइट गर्ने कार्यक्रम छ। उनको माघ २६ गते स्वेदश फिर्ता हुने पूर्वतालिका रहेको छ।नेपाल भ्रमणमा गर्नेमा रिचार्डस् नवौँ बेलायती सेनाध्यक्ष हुन्। सन् १९८२ को फेब्रुअरीमा तत्कालिक सेनाध्यक्ष एडवीन ब्रामलले पहिलोपटक नेपालमा औपचारिक भ्रमण गरेका थिए। नेपालका तर्फबाट सन् १९६६ मा तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले बेलायतको औपचारिक भ्रमण गरेका थिए। हालसम्म नेपाली सेनाका नौ जना प्रधानसेनापतिहरुले बेलायत भ्रमण गरिसकेका छन्।
No comments:
Post a Comment