News

Jul 1, 2011

पियनदेखि सचिवसम्म एउटै पोसाक साउन १ देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १७ - सरकारी कार्यालयका पियन हुन् या प्रमुख अब सबै एउटै पोसाकमा देखिनेछन् । नेपाली सेना र प्रहरीमा जस्तै निजामती कर्मचारीमा पनि सरकारले साउन १ देखि अनिवार्य 'ड्रेस कोड' लागू गर्दैछ । मन्त्रिपरिषद्ले हालै ७८ हजार निजामती कर्मचारीका लागि लागू हुने पोसाकको किसिम र रङ तय गरेको हो । मन्त्रिपरिषद् निर्णयलगत्तै सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै सरकारी कार्यालयलाई परिपत्र गरी निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता विनोद केसीका अनुसार पुरुष र महिला कर्मचारीका लागि तय गरिएको पोसाकको किसिम र रङसमेत उल्लेख गरी परिपत्र गरिएको हो । कर्मचारीले पोसाक खरिद गर्न तीन महिनाअघि नै पोसाक भत्ता लिइसकेका छन् । सरकारले वैशाख १ देखि नै ड्रेस कोड लागू गर्न कर्मचारीलाई चैत मसान्तमै साढे सात हजार रुपैयाँका दरले पोसाक भत्ता दिएको थियो । तर, किसिम र रङ तय गर्न मन्त्रिपरिषद्ले बढी समय लगाएकाले थप तीन महिना ढिला भएको हो । बर्सेनि साढे सात हजार रुपैयाँका दरले पोसाक भत्ता दिँदा बर्सेनि ५६ करोड रुपैयाँ खर्च हुनेछ ।
हिमाल, तराई र पहाडको हावापानी सुहाउँदो पुरुषलाई दुई र महिलालाई तीन किसिमको ड्रेस कोड तय गरिएको छ । पुरुष कर्मचारीले राष्ट्रिय पोसाक (दौरा, सुरुवाल, कोट, नेपाली टोपी र कालो जुत्ता) वा गाढा नीलो रङको कोट, त्यही रङको पाइन्ट, सेतो सर्ट र कालो जुत्ता लगाउनुपर्नेछ । राष्ट्रिय पोसाकको रङ भने तोकिएको छैन । राष्ट्रिय पोसाकभन्दा अर्को किसिमको पोसाक लगाउँदा कर्मचारीलाई टाई र टोपी स्वैच्छिक (लगाए पनि हुने/नलगाए पनि हुने) गरिएको छ । महिला कर्मचारीलाई कोट पाइन्ट, सारी ब्लाउज वा कुर्ता सलवारमध्ये एक रोजेर लगाउन पाइने व्यवस्था छ । महिलालाई गाढा नीलो रङको कोट, त्यही रङको पाइन्ट, सेतो सर्ट र कालो जुत्ता/स्यान्डल अथावा आकाशे गाढा नीलो रङको कुर्ता, गाढा बैजनी रङको सारी र गाढा बैजनी रङकै ब्लाउज (सारीको पारी रङको) तय गरिएको छ । महिला कर्मचारीको मागबमोजिम कुर्ता सलवार लगाउन पाउने विकल्प पनि गरिएको हो । ड्रेस कोडअनुसार महिला कर्मचारीले आकाशे गाढा नीलो रङको कुर्ता, गाढा बैजनी रङको सादा सलवार र सलसमेत पोसाकका रूपमा लगाउन पाउनेछन् ।
जाडोमा कोटको सट्टामा ज्याकेट वा कोट तथा ज्याकेटभित्र स्वीटरसमेत लगाउन पाउने व्यवस्था छ । बढी जाडो हुने हिमाली जिल्लामा कोटको सट्टा सोही रङको ज्याकेट र कालो जुत्ताको सट्टा स्पोर्टस् जुत्ता लगाउन पाइनेछ । गर्मी हुने भएकाले तराईका जिल्लामा कोट अनिवार्य गरिएको छैन । साताको एक दिन भने 'पोसाक होलिडे' दिएको छ । हरेक शुक्रबार कर्मचारीले आफू खुसी जस्तोसुकै पोसाक लगाउन पाउनेछन् ।

No comments: