News

Jul 1, 2011

नेपाल-भारत सम्बन्धमा 'चिसो संकेत'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १७ - चिनियाँ राजदूतसहितका कूटनीतिक अधिकारीहरूलाई पश्चिमका रारा ताल र बर्दिया निकुञ्ज घुमाएर र्फकने क्रममा परराष्ट्रसचिव मदनकुमार भट्टराईले बाँकेको डुबानग्रस्त क्षेत्र लक्ष्मणपुर ब्यारेजको मंगलबार अवलोकन भ्रमण गरे । परराष्ट्र अधिकारीका अनुसार उक्त भ्रमण आकस्मिक नभएर 'पूर्वयोजना' अनुरूप थियो । प्रधानमन्त्री झलनाथ खनालले कार्यभार थालेको छ महिना बितिसक्दा पनि उनको भारत भ्रमण हुन नसकेको र दुई देशबीच गृह सचिवस्तरीय लगायतका महत्त्वपूर्ण बैठकहरू पर सरिरहेका बेला परराष्ट्र सचिवको लक्ष्मणपुर ब्यारेज भ्रमण आफैंमा अर्थपूर्ण रहेको जानकारहरूले बताएका छन् । 'पूर्वयोजनाअनुसार म लक्ष्मणपुर ब्यारेज भ्रमणमा गएको हुँ,' सचिव भट्टराईले संक्षिप्त प्रतिक्रिया दिए । भारतले बाढीबाट आफ्नो भूमि कटान रोक्न र सिँचाइ योजनामा सन् १९८१ देखि चार वर्ष लगाएर लक्ष्मणपुर बाँध बनाएको थियो । यो बाँध बनेयता नेपाली भूभागमा पर्ने छ गाविसका छ हजार बासिन्दा विस्थापित भइसकेको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिले जानकारी दिएको छ । 'भारतलाई कूटनीतिक रूपमा झकझक्याउन सचिव भट्टराई बाँध अवलोकनमा जानुभएको हो,' परराष्ट्रमा भारत शाखा सम्हालिसकेका एक अधिकारीले बताए ।

No comments: