News

Oct 11, 2010

संलोरामका अध्यक्ष लक्ष्मण थारू यौनकर्मीसँग पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ असोज,थरुहट आन्दोलनका अगुवा तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारू व्यावसायिक यौनकर्मीसँग गेस्टहाउसमा पक्राउ परेका छन् । बागबजारको श्रीगणेश गेस्टहाउसमा छापा मारी महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार लक्ष्मण र यौनकर्मी महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले आइतबार बिहान साढे नौ बजे गेस्टहाउसमा छापा मार्दा दोलखाकी राधिका मगरसँग लक्ष्मण नग्न अवस्थामा भेटिएको जनाएको छ । पक्राउ पर्दा दुवैको परिचय खुलेको थिएन । पक्राउ परेका व्यक्तिले 'म लक्ष्मण थारू हुँ, मलाई पक्राउ नगर' भनेर धम्क्याएपछि मात्र उनको परिचय खुलेको प्रहरीले जनाएको छ । लक्ष्मण र प्रहरीबीच होटल परिसरमा करिब २५ मिनेट विवाद भएको थियो । उनको चेतावनीपछि प्रहरी टोलीले लक्ष्मण र यौनकर्मी महिलालाई कपडा लगाउन लगाएर भ्यानमा हालेको थियो । छापा मार्न गएका प्रहरी निरीक्षक वीरबहादुर बुढाका अनुसार लक्ष्मण सो होटलमा पटक-पटक आउने गरेको पुष्टि भएको छ । लक्ष्मणले भने होटलमा आफ्ना कार्यकर्तालाई भेट्न आउने गरेको दाबी गरेको प्रहरीले जनाएको छ । गेस्टहाउस सञ्चालक पार्वती पुरीसमेत पक्राउ परेकी छिन् ।
आइतबार पक्राउ परेकी महिला पनि लक्ष्मणले आफ्नै कार्यकर्ता भएको दाबी गरेका थिए । 'यिनी मेरी कार्यकर्ता हुन्, प्रेमिका पनि हुन् । हामी केही समयपछि बिहे गर्दै छौँ,' प्रहरीका अनुसार लक्ष्मणले भनेका थिए । तर, प्रहरीले भने युवतीलाई यौन-व्यवसायी भनेको छ । उनीहरूले शनिबारको रात नै होटलमा बिताएको पनि प्रहरीले जनाएको छ । गेस्टहाउसमा लक्ष्मणसहित पक्राउ परेका तीनैजनालाई परिसरको हिरासतमा राखेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । कैलालीको धनगढीका ३५ वषर्ीय लक्ष्मण जनयुद्धमा माओवादीमा सक्रिय थिए । संविधानसभा निर्वाचनअघि उनी माओवादीबाट विद्रोह गरेर बाहिरिएका थिए । त्यसलगत्तै उनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च स्थापना गरेका थिए । मञ्चमार्फत लक्ष्मणले तराईका विभिन्न जिल्लामा थरुहट आन्दोलनसमेत चलाएका थिए । थरुहट सेना गठन गरेर उनले ठाउँ-ठाउँमा मार्चपाससमेत गराएका थिए । उनको दलको तर्फबाट संविधानसभामा राजकुमार लिम्बू नाल्बो सभासद् छन् । प्रहरीले पक्राउ परेका तीनैजनालाई सार्वजनिक अपराध ऐनअनुसार अनुसन्धान गर्न हिरासतमा राखेको छ । तीनैजना अहिले प्रहरी परिसर हनुमानढोकामा छन् । मधेसी दलहरूले गरेको मधेसी आन्दोलनको विरोधमा लक्ष्मणले थारू बाहुल्य जिल्लामा आन्दोलन चलाएका थिए । तर, केही महिनाअघि भने लक्ष्मणले एक मधेस एक प्रदेशको मागमा मधेसी जनअधिकार फोरमसँग सहकार्य गर्ने घोषणा गरेका थिए ।

No comments: